दाङ ,साउन २१ । रुकुम पश्चिममा पिकअप दुर्घटना हुँदा च्यापिएका चालकको उद्धार गरिएको छ । दुर्घटनाको झन्डै डेढ घन्टापछि चालकको उद्धार भएको हो ।
मध्य पहाडी लोकमार्ग अन्तरगत रुकुम पश्चिम बाट रुकुम पूर्व तर्फ जाँदै गरेको रा १ च १३१७ नम्बको पिकअप दुर्घटना हुँदा मुसिकोट नगरपालिका – ८ चोरखानीका १९ बर्षे चालक डम्मर खड्कालाई गाडीले च्यापेको थियो ।
बिहान १० ः ५० बजेतिर मुसिकोट – ६ र ८ को सीमानामा पर्ने रिङदहमा उकालो चढ्न नसकी ब्याक भइ पिकअप दुर्घटनामा परेको थियो ।
जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक बखतबहादुर शाहीले चालकले साढे १२ बजेतिर गाडीले च्यापिएका चालकको उद्धार भएको जानकारी दिए ।
घटनास्थल भीरमा रहेको हुँदा मानिसले गाडी हलचल गराउँदा झनैं च्यापिएका चालकको ज्यान खतरामा पर्न सक्ने अवस्था भएका कारण उद्धारमा ढिलाइ भएको शाहीले बताएका थिए ।
जेसिबी बोलाइएको भएपनि अन्तिम समयमा ढोकाले च्यापिएका चालकलाई सिसा निकालेर प्रहरीले नै उद्धार गरेको थियो ।
घाइतेको ढाड लगाएत शरिरका बिभिन्न भागमा चोट लागेको र अवस्था मध्य रहेको प्रहरीले बताएको छ ।
घाइतेलाई उद्धार पछि अस्पताल पठाइएको छ ।
पिकअप ब्याक हुँदा सहचालक त्रिबेणी गाउँपालिका – १० कोल्टीका १७ बर्षीय जयप्रकाश गौतम भने हाम फालेको हुँदा सकुशल रहेको प्रहरीले बताएको छ ।