२०८१ भाद्र २५ गते मङ्गलवार

बल्ल अडियो रजौराको कमल पोखरीमा पानी


तुलसीपुर, असार १९ । तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित कमल पोखरीमा पाँच बर्ष पछि बल्ल पानी अडिएको छ । केही दिनको बर्षा पछि ताल पानीले भरिएको छ । ताल पानीले भएिएपछि सुन्दर देखिएको छ ।

यो तालमा पानी अड्याउनका लागि पछिल्लो समय झन्डै ६० लाख खर्च गरिएको थियो ।

तयार नेपालले कमल पोखरी सुधार कार्य अन्तर्गत कुल लागत (भ्याट बाहेक) ५९ लाख, ७८ हजार ५ सय ९२ रुपैयाँ खर्च गरेपछि बल्ल ताल भित्र पानी भरिएको हो ।

अघिल्लो बर्षसम्म बर्षा याममा पनि यो तालमा एक थोपा पानी अडेको थिएन । तालमा पानी भरिएपछि यो बर्ष स्थानीय पनि खुसी भएका छन् । ताल सुधारको योजनासहित तयार नेपालले फागुन २३ गतेदेखि असार ३ गतेसम्म काम गरेको थियो ।

कमल पोखरी सुधार कार्यका प्राविधिक इञ्जिनियर शरद अधिकारीका अनुसार सुधारको कार्य अन्तरगत पोखरी भित्रको सतह रातो माटोले १८ इञ्च फिलिङ गरिएको थियो । त्यो माटो संगै मिसाएर ‘बेन्टो नाइट पाउडर’ पनि राखिएको थियो ।


कमल पोखरीको सतह भित्र एक हजार दुई सय ६० घनमिटर माटो र ५० केजीको एक हजार पाँच सय बोरा ‘बेन्टो नाइट पाउडर’ मिलाइ लोलरले पेलेर फिलिङ गरिएको इञ्जिनियर शर्माले जानकारी दिए ।

तीन तहमा पेलेर माटो र पाउडर पोखरीको सतह भित्र राखिएको हो । इञ्जिनियर शर्माका अनुसार एक लेयर माटो र पाउडर फिलिङ गर्दा झन्डै १२ टिपर माटो र ५० केजीको ५०० बोराका दरले ‘बेन्टो नाइट पाउडर’ प्रयोग भएको थियो ।

पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकाले साढे ६ लाखको खर्चमा गेटसहित केही पर्खाल निर्माण गरेको छ ।

पोखरीको संरचना तयार भएकोले गेट निर्माण आवश्यक देखिएको हुँदा रकमान्तर गरी साढे ६ लाख बजेटबाट नगरले त्यो काम गरेको तुलसीपुरका इञ्जियिनर हिमाल शर्माले जानकारी दिए ।

प्राकृतिक अवस्थाको पोखरीलाई पाँच बर्ष पहिले क्रंकिट संरचना बनाउने काम सुरु भएको थियो । युएसएआइडीको तयार नेपालले सुरुमा भ्याटसहित ८० लाख पाँच हजार छ सय एक रुपैयाँ लगानी गरेको थियो।

तयार नेपालले विपद जोखिम परियोजनाअन्तर्गत आगलागीजस्ता विपदको समयमा तालको पानी दमकलमा भरेर लैजान सकियोस भनेर कमल पोखरीमा लगानी गरेको थियो । त्यसपछि लुम्बिनी सरकारअन्तर्गत कोहलपुर पर्यटन डिभिजन कार्यालयले स्थानीय स्तरमा पर्यटन प्रवद्र्धन गर्न सजिलो होस भन्ने उदेश्य राखेर छुट्टै ४६ लाख ५४ हजार तीन सय ५२ रुपैयाँ लगानी गरेको थियो ।

स्थानीय बासी नेपाली काँग्रेसका नेता तथा यसअघिका लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको पहलमा त्यो बजेट परेको थियो । तुलसीपुर उपमहानगरपालिकाले पनि मेयर घनश्याम पाण्डे छँदा २५ लाख यसअघि तालमा लगानी गरेको थियो ।

बिभिन्न निकायको झन्डै डेढ करोड खर्च भइ सक्दापनि यो तालमा यस अघिसम्म पानी भने अडिएको थिएन । त्यसैले डेढ करोड खर्चेको पानी बिनाको ताल भन्ने आलोचना सुरु भएको थियो ।
सामाजिक रुपमा आलोचना भएपछि फेरि तयार नेपालले तालमा पानी अड्याउनका लागि भनेर थप ६० लाख जति खर्च गरेपछि बल्ल तालमा पानी भरिएको हो ।

झन्डै एक बिगाहा क्षेत्रफलमा फैलिएको यो तालमा पछिल्लो लगानीसहित दुइ करोड बढी खर्च भइ सकेको छ । बिगतमा प्राकृतिक रुपमा रहेको यो तालमा सुख्खा मौसमा आसपासका गाउँ घरबाट बस्तु चौपाया पानी खान आउने गर्थे ।

स्थानीय अग्रजहरुका अनुसार कमलका फूलहरु ढकमक्क फूल्ने हुँदा तालको नाम कमल पोखरी रहन गएको हो । कमल पोखरी तुलसीपुर बजारको सबै भन्दा नजिकको ताल हो ।

प्रकाशित मिति : २०८१ असार २० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *