२०८१ असार ३१ गते आइतवार

बर्षदिन बित्दापनि पक्राउ परेनन् बाँकेकी एक छात्राको हत्यारा

दाङ, असार ८ । बर्षदिन बित्दापनि बाँकेकी एक छात्राको हत्यारा अझैं पक्राउ परेका छैनन् ।

कोहलपुर नगरपालिका – ६ रझेनाकी २२ बर्षीया सुमदरानी थारुको गत बर्ष बैशाख २८ गते राति धारिलो हतियार प्रयोग गरि हत्या भएको थियो ।

थारु बिगत एक बर्षदेखि अध्यनका लागि नेपालगञ्ज उपमहानगरपालिका – ९ स्थित एक जना ब्यक्तिको घरमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन ।
थारु आँफु सुत्ने कोठामा बैशाख २९ गते बिहान घाँटी र बायाँ औंला लगाएतमा गहिरो घाउ खतसहित हत्या गरेको अवस्थामा मृत फेला परेकी थिइन ।

शब फेला परेको दिन सुमदरानीका भाइ कोहलपुर – ६ का निरेन थारुले बर्दियाको राजपुर नगरपालिका – ८ कोइली गाउँका २६ बर्षीय शैलेन्द्र चौधरीलाई प्रतिबादी बनाइ किटानी जाहेरी दिएका थिए ।

घटना अनुसन्धानका क्रममा प्रहरीले मृतक र प्रतिबादीका बीचमा प्रेम सम्बन्ध रहेको तथा प्रतिबादीले सुमदरानीलाई बिहे गर्ने प्रस्ताब राखेको अनुसन्धानबाट खुलेको प्रहरी अधिकारी बताउँछन् ।

प्रहरीका अनुसार २०८० बैशाख २७ गते प्रतिबादी शैलेन्द्र कोहलपुरस्थित सुमदरानीको घरमा पुगेका थिए । शैलेन्द्रले सुमदरानीका परिवारसंग भेट गर्नुका साथै सुमदरानीलाई भेरी अस्पतालको फार्मेसीमा जागिर लगाइ दिने भन्दै उनको नागरिकता लगेर गएका थिए ।

बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार नागरिकता लगेपछि प्रतिबादी शैलेन्द्र बैशाख २८ गते नेपालगञ्ज गएका थिए । सुमदरानीका भाइ निरेनले जाहेरीमा २८ र २९ गते बिहानसम्म दिदीसंग फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेको उल्लेख गरेका छन् । सुमदरानीको मोवाइलन नम्बरका साथै सामाजिक संजालहरु सबै बन्द गरिएका थिए । ह्वाट्सएप, फेसबुक म्यासेन्जर सबै बन्द गरिएको थियो ।

बैशाख २९ गते बिहान प्रहरी घटनास्थल पुग्दा सुमदरानीको ढोका बन्द थियो । प्रहरीले आशंका लागेर ढोका फोडेको थियो । त्यसभित्र सुमदरानी खाटमै मृत अवस्थामा फेला परेकी थिइन । उनको शब ब्ल्याङ्केटले छोपेको अवस्थामा फेला परेको थियो ।

घाँटी लगाएत औंलामा चोटग्रस्त अवस्थामा शव फेला परेको थियो भने प्रहरीले घटनास्थलबाट एक थान चक्कुपनि फेला पारेको थियो ।
आपसी सम्बन्धमा बसेका उनीहरुका बीचमा मनमुटाव भएपछि हत्या भएको प्रहरी अधिकारी बताउँछन् ।
सुमदरानीको हत्या पछि प्रतिबादी सैलेन्द्रको पासपोर्ट र नागरिकता प्रहरीले उनकै कोठामा फेला पारेको थियो ।
हत्या पछि शैलेन्द्र भागेर भारत पसेको हुन सक्ने प्रहरीको अनुमान छ । शैलेन्द्रको खोजी भइ रहेको प्रहरी बताउँछ ।

प्रकाशित मिति : २०८१ असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *