२०८१ असार ८ गते शुक्रवार

यसरी, गुमनाम अवस्थाको बुलबुले तालले फेरि चर्चा पाउँदैछ

मोटरबोटको औपचारिक उद्घाटन

सुर्खेत, जेठ २९ । सुर्खेतको वीरेन्द्रनगरमा रहेको बुलबुले तालमा सञ्चालित मोटरबोटको औपचारिक रुपमै सुरु गरिएको छ ।

गत वैशाख १२ गतेदेखि परीक्षणका रुपमा सञ्चालन गरिएको मोटरबोटको कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले औपचारिक रुपमा सुरु गरेका हुन ।

मुख्यमन्त्री कँडेलले कर्णालीको विकासमा पर्यटन क्षेत्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै प्रदेश सरकारले मोटरबोट सञ्चालनका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने, ‘प्रदेशको विकासका लागि कृषि क्षेत्रको व्यावसायिकीकरण, घरेलु उद्योग र पर्यटन नै हो, बोटेबोरा कम्पनीले यहाँ मोटरबोट सञ्चालन गरेपछि पर्यटकीय गतिविधि पनि बढेको छ । प्रदेश सरकारले आगामी दिनमा सक्दो सहयोग गर्नेछ ।’ उनले प्रदेशमा निजी क्षेत्रको लगानी अझ बढ्नुपर्ने बताए ।

कर्णाली प्रदेशलाई जहिले पनि दुःख र अप्ठ्यारोको पर्यायवाचीका रुपमा लिने गरिएको भन्दै यो सोच बदल्न जरुरी रहेको बताए । त्यसका लागि पर्यटन क्षेत्रको विकास सबैभन्दा उपयुक्त विकल्प हुन सक्ने चर्चा गरे ।

पर्यटनले सम्बन्धित गन्तव्यमा आर्थिक गतिविधि बढ्नुका साथै रोजगारी सिर्जना हुने र विदेश जाने युवालाई स्वदेशमै रोक्न सकिने उनले बताए ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया भण्डारी (ढकाल) ले बुलबुले तालमा मोटरबोट सञ्चालनमा आएपछि यहाँको आर्थिक गतिविधि बढेको भन्दै खुसी ब्यक्त गरे ।

उनले विगतमा दैनिक मुस्किलले दुई हजार रुपैंया राजस्व संकलन हुने गरेकोमा अहिले दैनिक ४० हजार रुपैंयासम्म राजस्व संकलन भइरहेको जानकारी दिए । बुलबुले ताल क्षेत्रमा प्रवेशका लागि नगरपालिकाले प्रतिव्यक्ति २५ रुपैंया लिँदै आएको छ । प्रमुख भण्डारीले मोटरबोट सञ्चालनमा आएपछि नगरापालिकाले वार्षिक ५० लाख बराबर राजस्व संकलन गर्न सक्ने अनुमान गरिएको बताए ।

मोटरबोट कम्पनी बोटेबोराका सञ्चालक विष्णु ढकालले करिब एक महिनामा पर्यटकको उल्लेख्य उपस्थितिले हौसला बढाएको बताए । मोटरबोट चढ्नका लागि जुम्ला, हुम्ला, मुगुलगायतका जिल्लाबाट पनि आन्तरिक पर्यटक यहाँ आउने गरेको उनले जानकारी दिए ।
उनका अनुसार गत वैशाख १२ गते यता ३० हजारभन्दा बढीले मोटरबोट चढेका छन् ।

तर तालमा पानीको सतह कम भएको र साँझ नपर्दै पार्क बन्द हुने भएको समस्या रहेको बताए ।
उनले भने, ‘तालमा पर्याप्त पानीको सुविधा उपलब्ध गराउन तथा पार्क अबेरसम्म खुला गर्ने विषयमा स्थानीय तहसम्म हामीले पहल गरिरहेका छौँ, आशा छ चाँडै त्यो पनि पूरा हुनेछ ।’

बोटेबोरा कम्पनीले एक करोड ५० लाख रुपैयाँ बराबरको लगानीमा मोटरबोट सञ्चालनमा ल्याएको हो । मृत अवस्थामा रहेको बुलबुले ताललाई कम्पनीले आफ्नै लगानीमा सफा गरेर मोटरबोट सञ्चालन गरेपछि फेरि यसले चर्चा पाउन थालेको छ ।

कम्पनीका अनुसार ताल सफा गर्न हालसम्म आठ सय २० जना व्यक्ति खटिइसकेका छन । कम्पनीका पदाधिकारीहरु त्यसका लागि मात्रै २५ लाख रुपैयाँ लगानी गरि सकेको बताउँछन ।। तालमा रहेको फोहोर सफा गरेपछि अहिले पानीको सतह केही कम भएको छ । तालमा पर्याप्त पानीको व्यवस्थाका लागि प्रयास जारी रहेको सरोकारवालाहरुले बताएका छन् ।

हाल कम्पनीले दुई वटा १० सिटे र एउटा आठ सिटे गरी तीन वटा मोटरबोट सञ्चालन गर्दै आएको छ । कम्पनीका अनुसार मोटरबोट चढ्न प्रतिव्यक्ति दुई सय रुपैयाँ र बच्चा साथमा भएमा दुई सय ५० रुपैयाँ शुल्क लिँदै आएको छ ।

कार्यक्रममा मुख्यमन्त्री कँडेलसँगै प्रदेशसभाका सभामुख नन्दा गुरुङ, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दुर्गवहादुर रावत, भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाह लगाएत त्यसक्रममा पुगेका थिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *