तुलसीपुर, जेठ २१ । तुलसीपुर उपमहानगरपालिका – ९ (मासु मन्डीदेखि पूर्व पातुखोला पारी) घर भएका श्याने भनिने टोपबहादुर नेपालीमाथि खुकुरी प्रहार गर्ने समुहका युवाबारे उनैले आँफै भिडियोमा बोलेका कुराहरु फरककोणलाई प्राप्त भएका छन् ।
जसमा उनले प्रहरीले उपलब्ध गराएका नाम भन्दा फरक नामहरु लिएका छन् । घाइते अवस्थामा अस्पताल पु¥याइ लगतै नेपाली आँफैले बोलेको भिडियोमा निर्मल बस्नेत, बिवेक योगी भनिने आशिष योगी, जिवन परियार, बिजौरीको दीपक, अर्जुन र जेनिस कँवरको समुहले आँफुमाथि खुकुरी प्रहार गरेको उल्लेख गरेका छन् ।
तर, प्रहरी भने बिजौरीका दीपक नभइ भरत नेपाली रहेको बताउँछ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोख्रेलले फरककोणलाई बिजौरीका भरत नेपालीपनि घाइते रहेको भन्ने खुलेको बताए । भरतको खोजीका लागि प्रहरी परिचालन गरिएको पनि डिएसपी पोख्रेलले बताए ।
‘बिजौरीको दीपक होइन भरत नेपाली भन्ने हो,’ डिएसपी पोख्रेलले भने ।
घाइते श्यानेले अस्पताल लिएका नामहरु मध्य कोही पनि हालसम्म पक्राउ परेका छैनन् ।
गएराति प्रहरीले फरककोणलाई दिएका नामहरु मध्य स्याने माथि खुकरी प्रहार घटनामा संलग्न मध्य निर्मल बस्नेत मात्रै फरार रहेको भन्ने थियो । उनी फरार रहेको तथा उनको खोजी भइ रहेको डिएसपी पोख्रेलले बताएका थिए ।
प्रहरीले गएराति नेपाली माथि खुकुरी प्रहार घटनामा संलग्न रहेका भनिएका तुलसीपुर – ९ बेलुका सुरज वली र तुलसीपुर – ६ का सञ्तोष हमाल श्याने कै साथी रहेको तथा उनीहरु निर्दोश रहेको तथ्य श्यानेकै बयानले खुल्छ । तर, प्रहरी भने अझैं त्यो मान्ने तयार छैन ।
स्रोतका अनुसार सुरज, हमाल र घाइते श्याने तीन जना एउटै मोटरसाइकलमा सवार थिए । ग्वारखोला पुल क्षेत्रबाट यी तीन जनालाई थप चार जना दुई वटा मोटरसाइलकलमा सवार युवाहरुको समुहले त्यही बाट लखेट्दै पिछा गर्दै लगेको थियो । डिएसपी पोख्रेलले पनि त्यही जानकारी दिए ।
श्यानेसहित तीन जना सवार मोटरसाइकललाई ज्यान जोगान भाग्दै बिजौरी हुँदै मानपुर तर्फ लाग्ने क्रममा दुर्घटनामा परेको थियो । त्यसपछि ती चार जना युवाहरुको समहुले श्याने माथि तुलसीपुर – १७ मानपुर नजिकै लखेटी लखेटी खुकुरी प्रहार गरेको प्रहरी अधिकारीहरु बताउँछन् ।
‘मोटरसाइकल दुर्घटना पछिपनि श्याने ज्यान जोगाउन दौडिएर भाग्न खोजेका थिए र त्यो समुहले लखेट्दै गइ खुकुरी प्रहार गरेको खुल्छ,’ स्रोतले भन्यो ‘आक्रमणमा संलग्न भनिएका सबै युवाहरुको खोजी कार्य जारी छ ।’
प्रहरीले पनि यसअघि मोटरसाइकल दुर्घटनामा सुरज वलीको खुट्टामा चोट लागेर घाइते भएको हुँदा उपचारका तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पु¥याएको जानकारी दिएको थियो । गएराति प्रहरीले सञ्तोष हमाल भने प्रहरी हिरासतमा रहेको जानकारी दिएको थियो । प्रहरीले नियन्त्रणमा लिएका सुरज र सञ्तोष श्यानेका साथीहरु हुन भन्ने खुलेपनि डिएसपी पोख्रेल भने उनीहरुको समेत मिलेमतोको आशंका रहेको बताउँछन् ।
‘ सुरज र सञ्तोषको पनि भूमिका शंकाष्पद छ,’ डिएसपी पोख्रेलले भने ‘उनीहरुले योजनाबद्ध रुपमा मिलेमतोमै श्यानेलाई लगेर गएका हुन कि भन्ने छ ।’ डिएसपी पोख्रेलले सुरज र सञ्तोष माथि थप अनुसन्धान भइ रहेको बताए ।
श्यानेलाई लखनउ लगियो
खुकुरी प्रहारबाट श्यानेको खुट्टामा गम्भीर घाउ खत छ । दुबै खुट्टामा घुँडादेखि मुनी खुकुरी प्रहार भएको छ भने एउटा खुट्टामा गहिरो चोट रहेको प्रहरीले बताएको छ ।
घाइते श्यानेको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि गएराति नै बाँकेका लागि रिफर गरिएको थियो । त्यहाँ पनि उपचार संभव नभएपछि थप उपचारका लागि छिमेकी देश भारतको लखनउ लगिएको छ ।
डिएसपी पोख्रेलका अनुसार हड्डी र एउटा खुट्टाको नशा काटिएको हुँदा लखनउका लागि चिकित्सकले रिफर गरेका थिए ।
युवाहरुको एक समुहले तुलसीपुर – १७ मानपुर क्षेत्रमा बेलुका ६ बजेतिर श्याने माथि खुकुरी प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । पुरानो रिसिबीका कारण श्यानी माथि योजना बद्ध रुपमा आक्रमण भएको कुरा प्रारम्भीक अनुसन्धान बाट खुल्ने प्रहरी बताउँछ ।
डिएसपी पोख्रेलका अनुसार दंगीशरण गाउँपालिका – ५ का अन्दाजी २६ बर्षीय निर्मल बस्नेतको खोजी भइ रहेको बताए । ‘उस्लाई भगाउन उनकै साथीहरुले भूमिका खेलेको खुल्छ,’ उनले भने ‘ घटनामा संलग्न पक्ष बिपक्ष भनिएका सबैको बिगत त्यति राम्रो छैन ।’
बिगतमा उनीहरु पटक ÷ पटक लागु औषध लगाएत कुटपिट घटनामा संलग्न रहेको रेकर्ड प्रहरी संग रहेको डिएसपी पोख्रेलले बताए ।