
दाङ, जेठ २० । दाङमा प्रतिवन्धित लागु औषध ब्राउन सुगरसहित एक दम्पत्तिसहित तीन जना पक्राउ परेका छन् । पक्राउ परेको ब्राउन सुगरको मुल्य १८ देखि २० लाख सम्म पर्ने प्रहरीको अनुमान छ ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ निवासी ३२ बर्षीय गुड्डु कवडिया, उनकी पत्नि २४ बर्षीया रुक्सार कवडिया र चालक सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिका वडा नं. ५ निवासी ३६ बर्षीय लक्ष्मण सापकोटालाई दाङ प्रहरीले पक्राउ गरेको छ । गिलो अवस्थामा रहेको १ सय ८० ग्राम ब्राउन सुगर, ७ हजार नगद, ३ थान मोवाईल लगाएका सामाग्री बरामद भएको बताए । बरामद भएको ब्राउन सुगरको बजार मुल्य १८ लाखदेखि २० सम्म पर्न सक्ने प्रहरीले बताएको छ । प्रहरीका अनुसार दाङमा यतिधेरै परिमानका ब्राउन सुगर बरामद भएको यो नै पहिलो घटना हो ।
बा १८ च ८८३३ नम्वरको हाईलेक्स गाडीमा नेपालगञ्जवाट दाङ तर्फ ब्राउन सुगरको कारोवारी आउँदै गरेको सूचनाको आधारमा चेकजाँच गर्दा लमही नगरपालिबका वडा नं. ९ स्थित लमहीमा उनीहरुलाई आइनवार बेलुका ८ बजेतिर पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेकाहरु माथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिए ।