
दाङ, जेठ १९ । भारी बर्षापछि आएको बाढी र पहिलो वाट दुई महिलाको मृत्यु भएको छ । भारी बर्षा पछि झरेको पहिलोका कारण रोल्पामा एक महिला र बाढीले बगाउँदा प्यूठानमा थप एक महिलाको मृत्यु भएको छ ।
शनिवार दिउँसो साढे ४ बजेतिर लुँग्री गाउँपालिकाको कार्यालय नजिकै घर भएकी ४८ बर्षीया गौमाला माझीको पहिलोमा परेर मुत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं डिएसपी दिपक खड्काले गाउँपालिका कार्यालयसंगै रहेको घरमा कुलेसो काट्दै गरेकी माझीलाई पहिरोले पुरेपछि मृत्यु भएको जानकारी दिए ।
पहिरोमा पुरिएकी माझीको शव शनिवार बेलुका डोजेरको सहयोगमा माटो पंछाएर निकालिएको प्रहरीले बताएको छ । पहिरोले माझीको घर, लुँग्री गाउँपालिकाको कार्यालय र स्वास्थ्य कार्यालयको भवनको केही भागमा समेत पुरेको छ । त्यो पंछाउने क्रम जारी रहेको डिएसपी खड्काले बताए । दुई वटा निजी मोटरसाइकलसमेत उक्त पहिरोले पुरेको प्रहरीले बताएको छ ।
उता प्यूठानमा गत विहीवार दिउँसो परेको भारी बर्षा पछि आएको बाढीले बगाउँदा झिमरुक गाउँपालिका वडा नं. ५ खहरे निवासी ३५ बर्षीया निमकला रोकाको मुत्यु छ । प्रहरीका अनुसार बालबालिकालाई लिन भनि विद्यालय तर्फ जाँदै गरेकी रोकालाई खोला तर्दा बाढीले बगाएको थियो । प्यूठान नगरपालिका वडा नं. ७ स्थित एक खहरे खोलामा आएको बाढीले रोकालाई बगाए पछि उनको मृत्यु भएको प्रहरीले बताएको छ ।