
झुपु बुढा क्षेत्री
हापुरे, जेठ १६ ।
बम विस्फोटमा परी मृत्यु भएका विप्लव नेकपाका मध्यपश्चिम सैन्य कमाण्डर गोकुल रानाकी पत्नी ताराकुमारी रानाले आफ्नो सन्तानको शिक्षादीक्षा र गाँसबासको ग्यारेन्टी हुनुपर्ने माग गरेकी छन् । बिहीबार बबई गाउँपालिका वडा नं. ५ ट्वाङखोलामा ३२ बर्षीय पति गोकुलको अन्त्येष्टि कार्य चल्दै गर्दा ३१ बर्षीय राना मगरले सञ्चारकर्मीसँग विप्लवले त्यसको जिम्मा लिनुपर्ने माग गरेकी हुन् ।
जेठ १२ गते राजधानीको सुकेधारामा भएको बम विस्फोटमा मारिएका गोकुलको शव बिहीबार बिहान साढे ४ बजेतिर मात्रै गृह जिल्ला दाङ ल्याइएको थियो । बिहीबार बिहान उनको ट्वाङखोलामा हिन्दूपरम्परा अनुसार अन्त्येष्टि गरिएको छ । बालबच्चासहित पतिको अन्त्येष्टिमा पुगेकी ताराले आफ्ना पति पार्टीकै कामको सिलसिलामा मारिएको हुँदा अब आफू लगायत बालबालिकाको शिक्षादीक्षा र गाँसबासको ग्यारेन्टीको जिम्मा पार्टीले नै लिनुपर्ने माग गरेकी हुन् ।
ताराले भनिन् ‘मेरा छोराछोरी भोलि भिक माग्ने नहोर ! मेरा छोराछोरी भोलि देशका कर्णधार होउन । पार्टीकै लागि उहाँले ज्यान गुमाई सकेपछि यो सबै जिम्मा अब पार्टीले नै लिनुपर्ने उनको कथन थियो ।’ ट्वाङखोलामा छोराको अन्त्येष्टिको लागि पुगेकी गोकुलकी ५७ बर्षीया आमा दिलकुमारी रानाले पनि ३ नाती नतिना, आफू र बुहारीको अबको अवस्था के हुने हो भन्ने चिन्ता जाहेर गरिन ।
दुई वर्ष अगाडि मात्रै पति शेरबहादुरलाई गुमाएकी दिलमायाले आज क्रान्तिका नाममा कलकलाउँदो उमेरमा छोरा गुमाउनु पर्दा सारै पीडा भएको बताइन् । दिलकुमारीको शब्दमा उनका स्वर्गीय पति शेरबहादुर पनि जीवनभर क्रान्ति भनेर लागेको तर आफूलाई कहिलै सुखसयल दिन नसकेको बताइन् ।
‘क्रान्तिभन्दा भन्दै घर परिवारका लागि केही सुविधा नदिएर बुढा विते र छोरा पनि आज त्यसैगरी बितेर गयो,’ दिलकुमारीले आँखाभरि आँशु पार्दै भनिन् । गोकुल र ताराबाट तीन सन्तान छन् । १२ बर्षीया छोरी नविता राना मगर, माईली छोरी ८ बर्षीया गीता राना र ६ बर्षीय छोरा विप्लव राना छन् । उनीहरु सबैले हंसपुरस्थित सामुदायिक विद्यालयमा पढ्छन् ।
तत्कालिन माओवादी पार्टीमा हुँदाखेरी नै उनीहरुले २०६३ साल बैशाखमा क्रान्तिकारी विवाह गरेका थिए । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ फूलवारीमा माइती घर रहेकी ताराले १३ बर्षमै सिउँदो उजाडिएला भनेर कहिलै कल्पनासम्म पनि गरेकी थिइनन् । लाउँलाउँ र खाँउखाँउ भन्ने उमेर मै पतिको मृत्युको शोकले भावविह्वल अवस्थाकी ताराले सहारा गुमाएपछि अत्यन्तै पीडा महसुस भएको र भौतिकरुपमा आफ्नो शरीर बाहेक अब केही नबेचेको बताइन् ।
उनले पति गोकुल विगत दुई वर्षदेखि पार्टीको काममा छु भन्दै पटक÷पटक यसरी घर छोडेर हिडिरहने गरेको तथा पछिल्लो समय बैशाख ६ गते मात्रै घर आएर गोकुल ७ गते घरबाट हिडेको जानकारी दिइन । ‘उहाँको अत्तो पत्तो हुन्न थियो । मलाई उहाँ काठमाडौँ गएको पनि थाहा थिएन,’ ताराले भनिन् ।

ताराले १२ गते बम विस्फोटमा मारिएका पति गोकुलको मृत्युको खवर १३ गते मात्रै थाहा पाएको जानकारी दिइन् । दाङको बबई गाउँपालिका वडा नम्बर ३ हंसपुर धनवास निवासी ३२ बर्षीय रानाको राजधानीको सुकेधारामा भएको विस्फोटमा मारिएका थिए । जेठ १३ गते विप्लवले आह्वान गरेको नेपाल बन्द सफल पार्न राजधानीमा परिचालित भएका उनीलगायत चारजना जनमुक्ति सेनाका कमाण्डर आफै बम विस्फोटमा परी मृत्यु भएको थियो ।
पार्टीमा ‘महान’ नाम बाट चिनिने गोकुल जनवर्गिय संगठनका कमाण्डर तथा पार्टीका मध्यपश्चिम सैन्य कमाण्डर थिए । बम विस्फोटमा मारिएका दाङका राना पूर्व माओवादी लडाकु हुन् । उनकी पत्नी ताराकुमारी दुबैजना पूर्व ‘जनमुक्ति सेना’ हुन् । सेना समायोजनका क्रममा उनीहरुले स्वच्छिक अवकास रोजेका थिए । कलिलै उमेरमा तत्कालिन माओवादी युद्धमा लागेका राना पछिल्लो समय फेरि विप्लवमा लागेका थिए । साथीभाइका नजरमा राना सबैका प्रिय पात्र थिए ।
उनले गाउँघरमा कहिलै कसैलाई कुनैपनि किसिमले दुःख नदिएको स्थानीयले बताए । गाउँघरमा आउँदा कहिलै पार्टीको कुरासमेत नगर्ने उनको स्वभावबारे साथीहरुले बताए । गाउँघर र साथीभाइका माझमा गोकुलको परिचय एकजना असल बाँसुरी बाधकका रुपमा थियो । रानाले बबई गाउँपालिकाको रेडियो हापुरेमा केही समय गजलसम्बन्धी साहित्यिक कार्यक्रम पनि सञ्चालन गरेका थिए । स्थानीय गाउँलेहरुले दमनको भाषा बोल्दै आएको राज्य र व्रिदोहको भाषा बोल्दै आएको दुबै पक्षले टेवुल टक गरेर समस्या समाधानतर्फ लाग्नु राम्रो हुने सुझाएका छन् ।