तुलसीपुर चैत २ । तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाको आयोजनामा अन्तर्राष्ट्रिय विश्व उपभोक्ता दिवस मनाइएको छ ।
स्वच्छ र प्रतिस्पर्धी बजार,उपभोक्ताको सार्वभौम अधिकार भन्ने नाराका साथ दिवस मनाइएको हो । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख टीकाराम खड्काले उपभोक्तालाई संविधानले दिएको अधिकारलाई सुनिश्चितता गरिने बताए ।
उनले पालिकाकोतर्फबाट नियमितरुपमा अनुगमनलाई निरन्तरता दिदै आएको बताए ।
नगरप्रमुख खड्काले उपभोक्ताहरुलाई आफूले प्रयोग गर्ने सामग्रीको समयावधि,मूल्यका विषयमा जानकारी लिएर मात्रै खरिद गर्न आग्रह गरे ।
उनले आगामी वर्षदेखि पालिकाका १९ वटै वडामा उपभोक्ता सचेतनाको कार्यक्रम गरिने बताए ।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरीक्षक राजकुमार चौधरीले संविधानले दिएको अधिकारलाई उपभोक्ताको पक्षमा कार्यान्वयन गर्दै लैजाने बताए । उनले पछिल्ला दिनहरुमा उपभोक्ताहरुमा अधिकारका विषयमा जागरुक हुँदै गएको बताए ।
कार्यक्रममा उपभोक्ता हित संरक्षण शाखाका प्रमुख रेखा शर्माले उपभोक्ता दिवसका विषयमा जानकारी गराएका थिए ।