२०८३ भाद्र १० गते बुधवार

अमेरिकामा मनबहादुरको अन्तेष्टि पछि मात्रै पुन परिवारले यता काजक्रिया काम थाल्ने


दाङ, फागुन २९ । दाङ तुलसीपुर उपमहानगरपालिका – ७ खर्चवाका ३६ बर्षीय मनबहादुर पुनको शब अझैं अमेरिकी अस्पतालमा रहेको छ ।

अमेरीकाको क्यालीफोर्नियास्थित सेक्रोमेन्टोमा रहेको ‘नमस्ते सेक्रोमेन्टो रेस्टुरेन्टमा कार्यरत’ मनबहादुरले आइतबार बिहान पाँच बजेतिर आँफु कार्यरत रेष्टुँरामै झुण्डिएर आत्महत्या गरेका थिए ।


श्रीमानको मृत्युको खबर पाइ सकेपनि यता श्रीमति शान्ति र आफन्तले काजक्रियाको काम अझैं सुरु गरेका छैनन् । अमेरिकामा मनबहादुरको अन्तेष्टि पछि मात्रै काज क्रियाको काम सुरु गर्ने पुनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

तुलसीपुर घर भइ अमेरिका बस्दै आएका राप्ती समाज अमेरिकाका अध्यक्ष सुरेश हमालले प्रहरीले मनबहादुरको आत्महत्या बारे अनुसन्धान अझैं पुरा गरि नसकेको हुँदा शब प्रहरी अस्पतालमै रहेको जानकारी दिए ।
त्यहाँको पुलिसले आफ्नै हस्पिटलमा मनबहादुरको शब राखी अनुसन्धान जारी राखेको छ ।

अनुसन्धान पुरा भइ सकेपछि अबको एक दुई दिन भित्र शबको पोष्टमार्टमको काम हुने कुरा प्रहरीले अबगत गराएको हमालले बताए । त्यसपछि मात्रै प्रहरीले मनबहादुरको मृत्यु बारे आधिकारिक रुपमा कागज प्रदान गर्ने छ । त्यति काम गर्दासम्म अझैं हप्ता दिन जस्तो सिमय लाग्न सक्ने प्रहरीले राप्ती समाजका पदाधिकारीहरुलाई सूचना दिएको हमालले बताए ।


मनबहादुर अबैध रुपमा अमेरिका पुगेको तथा अमेरिकाको कार्डपनि बनि नसकेको हुँदा उनको मृत्यु पछि केही समस्या भइ रहेको पनि हमालले बताए । अमेरिकामा रहेका मनबहादुरका आफन्त संगै प्रहरीलाई अनुसन्धान प्रक्रिया छिटो टुङ्ग्याइ दिनका लागि आग्रह गरिएको पनि हमालले बताए ।


अमेरिकाबाट नेपालमा शब ल्याउन निकै जटिल र झझटिलो प्रक्रिया हुनुका साथै ठूलो धनराषी खर्चिनु पर्ने अवस्थाका कारण घर परिवार तथा आफन्तका बीचमा अमेरिकामै अन्तेष्टि गर्ने सल्लाह भइ रहेको हमालले जानकारी दिए ।


अमेरिकी सिनेट, दुताबासको अनुमति लगायत शब बोक्ने छुट्टै बिमानको खोजी गर्न धेरै समय लाग्ने तथा त्यो निकै खर्चिलो हुन सक्ने कुरालाई मध्य नजर गर्दै अमेरिकामै अन्तेष्टि गर्ने सल्लाह आफन्तले गर्न थालेका हुन ।
शान्तिले सकभर अमेरिकामा हुने अन्त्येष्टि कार्यमा सहभागि हुने चाहाना ब्यक्त गरेको र त्यसका लागि राप्ती समाजको तर्फबाट दुताबासमा पत्रचार गरिएको कुरापनि अध्यक्ष हमालले जानकारी दिए ।


‘शान्तिजीको चाहाना अनुरुप राप्ती समाजले दुतावासमा पत्राचार गरेको छ,’ हमालले भने ‘हेरौं त्यो कति संभव हुन्छ ।’ प्रहरीले मनबहादुरको मृत्युको कागज तयार पारेर दिएपछि पनि दाहा संस्कारका लागि अनुमति लिनुपर्ने हुन्छ ।
‘यहाँको पुसिलले देथ सर्टिफिकेट दिएपछि सवदाहा गृहको अनुमति लिनुपर्छ र त्यसपछि त्यो सिटीको पनि अनुमति लिनुपर्ने प्राबधान छ,’ अध्यक्ष हमालले भने ‘ यी सबै प्रक्रिया निकै झन्झिटिलो र केही खर्चिलो पनि छन् ।’
त्यसमा लाग्ने खर्चका लागि अमेरिकामा बस्दै आएका साथीहरुले मिलेर आर्थिक संकलनको अभियानपनि सुरु गरिएको अध्यक्ष हमालले बताए ।


‘हामीले आपसमा आर्थिक संकलन गरि लाग्ने खर्चको जोहो गर्दैछौं,’ अध्यक्ष हमालले भने ‘ संभव भएसम्म संकलित केही रकम पीडित परिवारलाई पनि पठाइदिने चाहाना हाम्रो छ ।’
मनबहादुर तल्लोबाटो हुँदै अमेरिका जान गत चैत १२ गते घरबाट हिडेका थिए । एजेन्टलाई झन्डै ५० लाख तिरेर गएका उनी ६ महिना पछि अमेरिका पुगेका थिए ।

त्यहाँ पुगेको ६ महिना पुग्दा नपुग्दै उनले आत्महत्या गरेका छन् । अमेरिका सपना पच्छ्याउने क्रममा मनबहादुरलाई त्यसअघि पनि मानब तस्करहरुले करिब ६ महिना बिभिन्न देश घुमाएपनि पठाउन नसक्दा फर्किएका थिए । तुलसीपुरस्थित जग्गा जमिन बेचेर दुई पटकको प्रयास पछि उनी अमेरिका पुगेका थिए ।

प्रकाशित मिति : २०८० फाल्गुन २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *