२०८२ असार १ गते सोमवार

२ दिन अघि मात्रै रोल्पाबाट बसाइ सरी दाङ झरेका थिए दुर्घटनामा ज्यान गुमाएका नेत्र भण्डारी

तुलसीपुर, फागुन ९ । बुधबार घोराहीको सर्रामा मोटरसाइ दुर्घटनामा परि ज्यान गुमाएका रोल्पाको त्रिवेणी गाउँपालिका –५ गुँइतीबाङका २४ वर्षीय नेत्र भण्डारी दुई दिन अघि मात्रै सपरिवार बसाई सरी दाङको तुलसीपुर आएका थिए ।


तुलसीपुर उपमहानगरपालिका – १६ मजगाउँमा झन्डै साढे दुई कठ्ठा जति जग्गा किने पछि भण्डारीको सपरिवार दुई दिन अगाडि मात्रै बसाइ सराई गरि तुलसीपुर झरेको थियो। नेत्र दुई दिन अघि आफ्नी श्रीमति, एक छोरी, आमा, भाउजु र उनका छोरासहित गाडी बुक गरि बसाइ सरेर तुलसीपुर झरेका थिए ।

भैरहवामा कार्यरत प्रहरी जवान नेत्रका दाजु भुपलाल भण्डारीपनि घर सल्लाह अनुसार बसाई सराइ गरि आएको दिन घर बिदामा आएका थिए ।


मजगाउँमा जग्गा किनेपनि बस्ने घर भने थिएन । घर नभएको हुँदा नजिकै गाउँको एउटा खाली घरमा घर धनीलाई भनेर भण्डारी परिवार एक रात मात्रै बास बसेको थियो । दोस्रो दिन सपरिवार तुलसीपुरको मलवार आसपासमा रहेको भुपालको माइती घरमा बास बस्न गएको थियो ।


पेशाले शिक्षक नेत्र रोल्पास्थित बिद्यालयमा हाजिर हुने उदेश्यले बिहानै दुर्घटनामा ज्यान गुमाउने मध्यका अर्का त्रिवेणी गाउँपालिका –५ कै २१ वर्षीय विजय पुन नाताले नेत्रका भाइ थिए । उनीहरु दुई बहिनीका छोरा रहेका आफन्तहरुले जानकारी दिएका छन् । मोटरसाइकल बिजयले चलाएका थिए ।


एकाबिहानै दुर्घटनामा दाजु भाइले ज्यान गुमाएपछि भण्डारी परिवारले बुधबार आमाको नामबाट जग्गा पूर्जा प्राप्त गर्ने अन्तिम तयारी गरिएको भएपनि त्यो पुरा हुन सकेन ।

तुलसीपुर – १६ मजगाउँको उक्त जग्गा किन्न दाजु भाइले आ–आफ्नो कमाइको बराबरी पैंशाको जोहो गरेको दाजु भुपालले बताए । उनीहरुले झन्डै २३ लाखमा जग्गा किनेका थिए ।

दाजु नेत्रलाई एका बिहानै रा ५ प ५४५३ नम्बरको मोटरसाइकल हाँकेर गएका बिजय सर्रा चोक नजिकै एक साइकल यात्रीलाई जोगाउन खोज्दा दुबै जना सडकमै पल्टिएका थिए । नेत्र आँफुले पढाउने विद्यालयमा पुगेर बिद्यार्थी पढाउन चाहेका थिए । बिजय दाजुलाई घोराही पु¥याइ बसमा चढाइ आँफुले पढ्ने राप्ती बबई क्याम्पस आउने हतारोमा थिए ।


बिहान ६ बजेतिर यो घटना हुँदा बिपरित दिशा घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको बा २ झ ३६५२ नम्बरको बोलेरो जीपले सडकमा लडेका नेत्र र बिजय दुबै जनाको टाउको लगाएत शरिरका भागमा किच्दै हुँइकिएको थियो ।


बोलेरो जीप रोल्पाको त्रिवेणी गाउँपालिकाको कार्यालयको हो । त्यो गाडी त्रिवेणी –२ का २९ वर्षीय निर्मल बुढाले हाँकेका थिए ।
घाइते दुबै दाजु भाइलाई उद्धार गरी घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएको केही बेरमै बिहान पौने ७ बजेतिर दुवै जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए । चालक निर्मल बुढा प्रहरी नियन्त्रणमा छन् ।

दाजु भुपालले नियतबस र घटना नियोजित रहेको बताए । आफन्तले चालक बिरुद्ध सोही आसयका साथ जिल्ला प्रहरी कार्यालय दाङमा मुद्दा दर्ता गराएका छन् ।


घटनाबारे सत्य तथ्य छानविन नहुँदासम्म शबहरु नबुझ्ने आफन्तको अडान छ । दुबै जनाको शब राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा राखिएको छ ।


घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *