तुलसीपुर, माघ १६ । तुलसीपुरका मेयर टीकाराम खड्का र प्रबक्ता माधव वलीका बीचमा राजश्व संकलनका बिषयमा चर्काचर्की भएपछि कार्यपालिका बैठक अनिश्चित भएको छ ।
कार्यपालिकाको बैठकको तयारी बैठकमा आइतबार दिउँसो नेकपा एमालेबाट निर्वाचित मेयर खड्का र दोस्रो कार्यकालका लागि एमालेबाटै निर्वाचित वडा नं. १८ का वडाध्यक्ष तथा प्रबक्ता वलीका बीचमा चर्काचर्की भएको बैठकमा सहभागि स्वतन्त्रबाट निर्वाचित १६ नं.का वडाध्यक्ष शिवानन्द डाँगीले जानकारी दिए ।
त्यो नोकझोकपछि नगर प्रबक्ता वलीसहित एमालेबाट निर्वाचित दश वडाध्यक्षज्यूहरु पार्टीमा छलफल पछि मात्रै कार्यपालिका बैठक गर्न सकिने भन्दै बाहिएको उनले बताए ।
राजश्व अनुमान प्रस्तुत गर्ने तथा हिउँदे अधिबेशनका लागि नयाँ बजेट प्रस्तुत गर्ने बारे तयारी बैठकमा मेयर खड्का र नगरका प्रबक्ता वलीका बीचमा चर्काचर्की भएपछि कार्यपालिका बैठक बस्नेबारे अन्यौंलता उत्पन्न भएको वडाध्यक्ष डाँगीले जानकारी दिए ।
वली नगरका आर्थिक बिकास प्रमुखसमेत हुन । आर्थिक बिकास प्रमुखले आँफुलाई जिम्मा दिएको काम नगरी अरु कुरामा अल्झाउन खोजेपछि उनीहरुका बीचमा चर्काचर्की भएको वडाध्यक्ष डाँगीले जानकारी दिए ।
‘ प्रबक्तासमेत रहेका नगरका आर्थिक बिकास प्रमुख वलीले आँफुलाई सुम्पिएको जिम्मेवारी बारे धारणा राख्नु भन्दा अरु अरु बादबिबाद भएको हो ,’ अध्यक्ष डाँगीले भने ‘ त्यो बिबाद पछि सम्बन्धित बिषयमा कुरा केन्द्रित नभइ बिषान्तर भइ उहाँहरु बीचको नोकझोक भएको साँचो हो ।’
स्रोतका अनुसार भने नगर प्रबक्ता तथा आर्थिक बिकास प्रमुखसमेत रहेका वडाध्यक्ष वलीले आफ्नै वडा भित्रका कुला तथा बालुवा गिट्टीबारे अन्य वडाध्यक्षले मिचाहा प्रबृति देखाएको कुरा सुरु गरेपछि बिबाद सुरु भएको थियो ।
क्षेत्राधिकार भन्दा बाहिर वडाध्यक्षहरु किन गएको भन्दै वडाध्यक्ष वलीले प्रश्न उठाएका थिए ।
त्यसपछि १४ नं.का वडाध्यक्ष शंकर खड्का र १६ का वडाध्यक्ष डाँगीले आँफुहरुले क्षेत्राधिकार नमिचेको बरु मेयरको आदेशमा काम गरिरहेको जबाफ दिएको स्रोतले बतायो ।
नेपाली काँग्रेसबाट निर्वाचित खड्का तुलसीपुर नगरको प्राकृतिक स्रोत साधन ब्यबस्थापन समितिको संयोजक र स्वतन्त्रबाट निर्वाचित डाँगी त्यसको सदस्य हुन ।
तुलसीपुरमै पर्ने सोना सिमेन्ट उद्योग, तुलसीपुरको बसपार्क, सब्जीमण्डी, अटो ग्यारेजबाट जे जति राजश्व जम्मा हुनुपर्ने हो त्यो किन भइ रहेको छैन ? भनेर मेयरले कुरा उठाउँदा वडाध्यक्ष वली रिसाएका थिए ।
स्रोतका अनुसार वडाध्यक्ष वलीका भाइ बशन्त वलीले घाट गद्दी गरि राखेको ढुँगा यो बीचमा प्राकृतिक स्रोत साधन समितिका पदाधिकारीको निर्देशनमा जफत गरिएपछि वडाध्यक्ष वली रुष्ट छन् । यो बर्षदेखि जिल्ला भरका दश पालिकाले आ–आफ्नो क्षेत्रका खोला तथा नदीबाट बालुवा, गिट्टी तथा ढुँगा आँफै उठाउने अर्थात अघिल्लो बर्षहरु जस्तो ठेक्का नलगाउने निर्णय यसअघि नै गरि सकेको छ ।
पालिकाबाट तोकिएका पदाधिकारीले नदी तथा खोला जन्य बस्तु चोरीमा कडाइका साथ रोक लगाउँदै गएपछि तस्करका मतियारहरु छटपटाउन थालेको काँग्रेसबाट निर्वाचित वडा नं. ९ का वडाध्यक्ष तथा लेखासमितिका संयोजक घनश्याम ढकालले दाबी गरे ।
यो बर्ष आँफु लेखासमिति संयोजक भएपछि मनपरी गर्न नदिएको र त्यसले तस्करका माफियाहरु छटपटाएको ढकालले बताए ।
लेखासमितिका संयोजक ढकालका अनुसार मेयर खड्काले राजश्व संकलनका लागि उचित र सकारात्मक कुरा गरि रहेको पनि उनले बताए ।
स्रोतका अनुसार मेयर खड्काले आर्थिक बिकास समितिका संयोजक वलीलाई उनलाई गर्नुपर्ने जति नगरेको हो ? भन्दै गरेको कामको प्रगति बिवरण मागेका थिए ।
त्यसपछि वडाध्यक्ष वली रिसाएका थिए । बैठकमा सहभागि अर्का एक वडाध्यक्षले पनि वडाध्यक्ष वलीकै कमिकमजोरी औंल्यााएका थिए ।
मेयर खड्काले आर्थिक बिकास समितिका संयोजक वलीलाई जहिलै कर छुट गर्ने प्रस्ताब ल्याएर आउने भन्दै संझाउन खोजेका थिए ।
‘ तपाँई जहिलै कुर छुटको प्रस्ताब लिएर आउन सुहाउने कुरा हो भन्दै मेयरपनि रिाउनु भएको हो,’ एक वडाध्यक्षले भने ‘ आर्थिक बिकासको प्रमुख भएर तपाँईले करलाई कसरी ब्यबस्थित गर्ने भन्ने तिर ध्यान दिनुपर्ने होइन भन्ने उहाँको भनाई थियो ।’
कर ब्यबस्थित गर्ने सवालमा कार्य बिधिले काम गर्न सके नसके के हो ? कार्यबिधिका केही फेर बदल गर्नु पर्ने छ कि ? त्यो बारे आर्थिक बिकास संयोजकको नाताले खै ठोस योजना ल्याएको भन्दै मेयरले वडाध्यक्ष तथा आर्थिक बिकास संयोजक वलीलाई प्रश्नहरु गरेको अर्का वडाध्यक्षले बताए ।
‘ राजश्व संकलनको सवालमा तपाँई जहिलै लचिलो हिसावले प्रस्तुत हुन सुहाउँछ,’ मेयरको भनाई उद्धत गर्दै ती वडाध्यक्षले भने ‘ आर्थिकको प्रमुखले जहिलै आशंकाहरु उब्जिने हिसावले कर छुटको मात्रै कुरा गर्न सुहाउने कुरा हो ? भनेर मेयरले प्रतिबाद गर्नु भएको हो ।’
त्यसपछि वडाध्यक्ष वली मेयर खड्कालाई ब्यक्तिगत रुपमा आँफुले गरेका कुरा सार्वजनिक रुपमा तयारी बैठकमा बदनाम गर्ने गरि कुरा उठाउने भन्दै आपत्ति जनाएका थिए । उनले आँफुले गरेको काम नदेख्ने र अरुले गरेको काम मात्रै ठूलो सफलता देख्ने भन्दै चर्कौ बोल्दा समस्या निम्तिएको उनले बताए ।
‘उहाँहरु बीचको त्यही बिबादले हिजो बस्ने भनेको कार्यपालिका बैठक बस्ने सकेन,’ उनले भने ।
एमालेबाट निर्वाचित तुलसीपुर – ११ का वडाध्यक्ष मानबहादुर रावतले हिउँदे अधिबेशन बोलाउने बारे तथा सोही बिबाद मिलाउने बारे आँफुले नगर प्रमुख खड्कासंग मंगलबारपनि छलफल गरेको जानकारी दिए ।
‘ मेयर सापले हिउँदे अधिबेशन ढिलाइ भइ सकेको हुँदा छिट्टै कार्यपालिका बैठक बस्नुपर्छ भन्नु भएको छ,’ उनले भने ‘ कुरा त्यति चर्कौ होइन सामान्ने कुरा बाहिर अलि धेरै चर्चा भयो भन्ने मलाई लाग्छ ।’
मेयर खड्काले पटक÷ पटक फोन सम्पर्क गर्दा सम्पर्कमा आउन नचाहेपनि वडाध्यक्ष रावतले आफ्नै मोवाइल फोन मार्फत संबाद गराएका थिए ।
उनले बाहिर हल्ला चलाइए जस्तो नभएको बरु सामान्ने रुपमा छलफलहरु मात्रै भएको भन्नु उपयुक्त हुने प्रतिक्रिया दिएका थिए ।
वडाध्यक्ष वलीले पनि मेयर खड्काको जस्तै प्रतिक्रिया दिएका थिए ।
‘बाहिर जुन रुपमा हल्लाहरु गरिएका छन त्यस्तो होइन छलफलहरु मात्रै भएका हुन ,’ उनले भने ‘ त्यसलाई जसरी हल्ला गरिएको छ त्यो सही होइन ।’