तुलसीपुर,माघ ५ । दाङको तुलसीपुरमा पहिलो पटक थारु संस्कृति तथा खाना प्रदर्शनी हुने भएको छ ।
थारु समुदायको परम्परागत खाना , कला, रितिरिवाज र भेषभुषाको संरक्षण तथा प्रर्वद्धन गर्न माघ ६ गते (शनिबार) थारु संस्कृति तथा खाना प्रदर्शनी हुने भएको हो ।
त्यस अवसरमा परम्परागत व्यञ्जनहरु, खाना पकाउने विधिहरु, स्वदेशी सामग्रिहरु, पुस्ताहरुबाट पारित भएका कला अभ्यासहरुसहित स्वादिष्ट थारु व्यञ्जनहरुको प्रदर्शन गरिने मूल आयोजक समितिका संयोजक भागीराम चौधरीले जानकारी दिए ।
थारु कला संस्कृतिको जगेर्ना र खानाहरुको प्रचारप्रसारमा टेवा पुर्याउन थारु संस्कृति तथा खाना प्रदर्शनी गर्न लागिएको उनले बताए ।
त्यस अवसरमा थारु एकल र समुहगत नृत्य प्रतियोगिता, थारु खानाको प्रदर्शनी, उद्यमीहरुले उत्पादन गरेका सामाग्री प्रदर्शनी गरिने सहसंयोजक छविलाल चौधरीले बताए ।
स्थानीय आर्थिक विकास र दिगो जीविकोपार्जनमा थप सहयोग पुर्याउन थारु संस्कृति तथा खाना प्रदर्शनी गर्न लागिएको उनले बताए ।
।
थारु खानाको प्रचारप्रसार गरि आर्थिक रुपान्तरण गर्न सकिने सदस्य सन्तोष दहीतले बताए ।
पत्रकार सम्मेलनको सहजीकरण नेपाल पत्रकार महासंघ दाङका सहसचिव दिप्तीशिखा चौधरीले गरेकी थिइन् ।
