दाङ, पुस १० । रोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । अर्का एक ब्यक्ति गम्भीर घाइते भएका छन् ।
ट्रयाक्टर चालक जिल्लाको सुनिलस्मृति गाउँपालिका – ७ तेवाङका २१ बर्षीय तिलक बिष्टको मृत्यु भएको छ । अस्पताल पु¥याए लगतै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
उक्त दुर्घटनामा परि सोही ट्रयाक्टरमा सवार लुङग्री गाउँपालिका – ४ सानो नम्जाका ४२ बर्षीय लिलामणि बिष्ट गम्भीर घाइते छन् । उनलाई थप उपचारका लागि बुटवल पठाइएको छ ।
सोमबार बेलुकी ८ बजेतिर लु १ त ४९७० नम्बरको ट्रयाक्टर सुनिलस्मृति गाउँपालिका – ३ बर्जिवाङस्थित भित्री सडक खण्डमा खर लोड गरि खुङ्ग्रीदेखि सानो नम्जा तर्फ जाँदै गर्दा तीव्र गतिका कारण दुर्घटनामा परेको थियो ।
ट्याक्टर सडकदेखि झन्डै एक सय मिटर तल खसेको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक नारायण गुप्ताले जानकारी दिए ।
प्रकाशित मिति : २०८० पुष १० गते मङ्गलवार