२०८१ बैशाख १३ गते बिहिवार

नारायणपुरमा सडक मिचेर बनाइएका ७ वटा घर–टहरा हटाइयो

घोराही,मंसिर २६ । घोराही उपमहानगरपालिका १० नारायणपुर बजारमा सडक मिचेर बनाइएका ७ वटा घरटहरा हटाइएको छ ।

उपमहानगरपालिकाको न्यायिक समितिले सडक मिचेर बनाइएका ति संरचना हटाउनु पर्ने फैसला गरेपछि टहरा बनाएकाहरूले उच्च अदालतमा मुद्दा हालेका थिए ।

उच्च अदालतले पनि सडक मिचेर बनाइएका ति संरचनाहरू हटाउनु पर्ने न्यायिक समितिको निर्णयलाई सदर गरेपछि उपमहानगरपालिकाले सोमबार ति ७ वटा घर टहराहरू हटाएको हो ।

घोराही १० का कुलबहादुर भण्डारी, प्रेमबहादुर वली, कलाधर पौडेल, विरेन्द्र मगर लगायतले कैलाश लहरे, थम्मन महरा, गोपाल देवकोटा, निशा, असगर अली मुसलमान, स्याउली चौधरी, रामशरण चौधरीले सार्वजनिक बाटोमा अवैध घर टहरा बनाएको भनी ति संरचनाहरू हटाई पाउ भनी दिएको निर्देशनमा न्यायिक समितिले २०७४ साल फागुन १५ गते अवैध संरचना ठहरिएकाले हटाउने निर्णय गरेको थियो ।

तर , असगर अलिको पत्नी जयन्ता अलीले न्यायिक समितिलाई विपक्षी बनाई उच्च अदालतमा पुनरावेदन गरेका थिए।

उक्त मुद्दामा उच्च अदालतका न्यायाधीश रमेशराज पोखरेलले इजलासले २०७८ असोज ३ गते निवेदकको आवास र बसोबासको अधिकार तथा व्यापार व्यवसाय गर्न पाउने अधिकारमा अतिक्रमण नहुने गरी विपक्षी घोराही उपमहानगरपालिकाले २०७४ फागुन १५ को निर्णय मनासिब हुने हुँदा त्यस तर्फ घोराही उपमहानगरपालिकाको ध्यानाकर्षण गर्दै निवेदकले उत्प्रेषणको आदेशद्धारा बदरको माग गरिएको मिति २०७४ फागुन १५ को निर्णय सार्वजनिक जग्गाको व्यवस्थापन र सञ्चालन गर्ने कुरामा लक्षित रहेको देखिँदा उक्त निर्णयलाई बदर गर्न मिल्ने देखिएन भनी फैसला गरेको थियो ।

टहरा बनाएर बसेकाहरूलाई पटक पटक सार्वजनिक सूचना मार्फत हट्न आग्रह गरेको अटेर गरे पछि फैसला कार्यान्वयन गरिएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए ।

उनी आफै पुगेर अदालतको फैसला भएकाले यसको सम्मान र कार्यान्वयन सबैले गर्नुपर्ने भन्दै सामानहरू निकाल्न अनुरोध गरे ।

उपमहानगरपालिकाको डोजर, नगर प्रहरी, कर्मचारी तथा जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लको नेतृत्वमा गएको प्रहरी टोलीले टहराहरू हटाएको हो ।

प्रकाशित मिति : २०८० मङ्सिर २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *