तुलसीपुर, मंसिर २५ । दाङको घोराही क्षेत्रमा कुकुरले टोकेका भनिएका दुई बालबालिकाको मृत्यु भएको छ ।
जिल्लाको घोराही उपमहानगरपालिका – १० उत्तर अमराइका दुई बालबालिकाको केही दिनको अन्तरालमा उपचारका क्रममा मृत्यु भएको हो ।
स्थानीय नरेश चौधरीकी ६ बर्षीया छोरी निलम चौधरीको मंसिर २२ गते र सोही ठाउँकै गिरिराज वलीका ५ बर्षीया छोरा गम्भिर वलीको मंसिर २४ गते मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए ।
उनीहरु संगै खेल्ने क्रममा मंसिर २ गते बिहान साढे दश बजेतिर कुकुरले टोकेको गम्भिरका बुवा गिरिराजले जानकारी दिए ।
बालबालिकाले सानो खैरो कुकुरले आएर टोकेको भन्ने गरेको हुँदा त्यो जंगली कुकुर ब्याँसो अर्थात स्याल हुन सक्ने आशंका गरिएको छ ।
उत्तर अमराई नजिकै वन जंगल रहेको र त्यही बाट आएको बाँसो वा स्यालले उनीहरुलाई रेबिज लागेको आशंका स्थानीयले गरेका छन् ।
उनीहरुको हात खुट्टा तथा अनुहारमा टोकेको घाउ खतहरु रकेका थिए ।
एकै गाउँका दुई बालबालिकाको कुकुरले टोकेर मृत्यु भएपछि स्थानीय त्रसिद छन् ।