तुलसीपुर,मंसिर २१ । तुलसीपुरमा अतिक्रमण गरि बनाईएका फुटपाथका संरचना भत्काउन सुरु गरिएको छ । तुलसीपुरको (ग) लाईन क्षेत्रमा अतिक्रमण गरि बनाईएका संरचना बिहीबारदेखि भत्काउन सुरु गरिएको हो ।
खासगरी बजार क्षेत्रका फुटपाथहरुमा अथवा पसल अगाडी सामान राख्नको लागि बनाईएका विभिन्न संरचनाहरु भत्काउन सुरु गरिएको हो ।
बजार क्षेत्रको नाला माथी घरधनी तथा व्यापारीहरुले आफ्नो सहजताका लागि भर्याङ्ग तथा संरचना बनाएकाले बिहीबारदेखि ति संरचना हटाउन थालिएको भवन शाखाका ईन्जिनियर श्रीनारायण चौधरीले जानकारी दिए ।
‘नाला भनेको मान्छे हिड्ने, फुटपाथमा प्रयोग हुने हो तर यहाँ भर्याङ्ग र सामान राख्नको लागि संरचना बनाईएको पाईएपछि त्यो हटाउने आदेश अनुसार ग लाईनबाट त्यस्ता संरचना भत्काउन सुरु गरेका हौ,’ईन्जिनियर चौधरीले भने ।’
चौधरीका अनुसार एक हप्ता भित्र तुलसीपुर बजार क्षेत्रमा अतिक्रमण गरी बनाईएका फुटपाथको संरचना भत्काई सक्ने गरि काम सुरु भएको छ ।
खासगरी यसरी फुटपाथमा संरचना बनाएर सामानहरु राख्दा दुर्घटनाको जोखिम बढेको छ ।