तुलसीपुर, मंसिर २० । दाङको तुलसीपुरबाट सल्यान तर्फ जाँदै गरेको ट्रक दुर्घटनामा परेको छ ।
तुलसीपुरबाट सल्यान कपुरकोट तर्फ जाँदै गरेको रा १ ख २५०१ नम्बरको ट्रक तुलसीपुर उपमहानगरपालिका – ३ स्थित राम्री भीरबाट बेलुकी ६ बजेर १० मिनेटमा खसेको हो ।
ट्रक झन्डै डेढ सय मिटर तल खसेको छ ।
ट्रकमा गाडी धनी तुलसीपुर – ३ का टीकाराम भुसाल र चालक नारायण सार्की मात्रै सवार रहेका थिए । दुबै जना सकुशल रहेको घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए ।
ट्रकको पट्टा भाँचिएपछि दुर्घटना भएको चालक सार्कीले बताएका छन् ।
प्रहरीका अनुसार ट्रक खाली थियो । तुलसीपुरबाट तरकारी ल्याउन भनेर सल्यानको कपुरकोट तर्फ जाँदै गरेको ट्रक दुर्घटनामा परेको थियो ।
उकालोमा चढ्दै गरेको ट्रकको पट्टा एकाएक भाँचिएपछि ट्रक ब्याक भइ भीरबाट खसेको थियो ।
भित्तामा ठोक्काई जोगाउने प्रयास संभव नभएपछि दुबैले हाम फालेर ज्यान जोगाएको प्रहरीले बताएको छ ।