तुलसीपुर, मंसिर २० । तुलसीपुर उपमहानगरपालिका – ११ मा एकै साथ दुई वटा पुल निर्माण हुने भएका छन् ।
कटाँहा गाउँको पुछारमा रहेको बन्धुरे सोतामा ६५ लाख बजेट स्वीकृत भइ बुधबार बेलुकी सार्वजनिक रुपमा टेन्डर आह्वान हुन थालेको छ ।
त्यस्तै क्वाङखोलामा ७८ लाख लागतमा अर्कौ पुल निर्माण हुने भएको छ । उक्त पुलको टेन्डरपनि सार्वजनिक हुन थालेको तुलसीपुरका इञ्जिनियर पवन योगीले बताए ।
‘ सकभर आजै र नभ्याएको खण्डमा भोलिसम्म ती पुल निर्माणका लागि टेन्डर आह्वान भइ सक्छ,’ इञ्जिनियर योगीले भने ।
वडा नं. ११ र १२ जोड्ने गरि क्वाङखोलाको सिमलकाँटी र आँटाकुटी जोड्ने पुल निर्माण गर्न थालिएको वडाध्यक्ष मानबहादुर रावतले जानकारी दिए ।
टेन्डर पछि निर्माण कम्पनी संग संझौता भइ काम हुन अझैं एक डेढ दुई महिना लाग्नेपनि वडाध्यक्ष रावतले बताए ।
त्यस्तै तुलसीपुर – १० बनगाउँदेखि पूर्वी नवलपुर हुँदै प्रिगाउँ जोड्ने बाटोको ठेक्का रद्द गर्ने प्रक्रिया सुरु भएको वडाध्यक्ष रावतले फरककोणलाई बताए ।
‘बिहीबारको कार्यपालिका बैठक मार्फत ठेकेदारले काम नगरेको हुँदा ठेक्का रद्द गर्ने तयारी गरिएको छ,’ रावतले भने ‘काम गर्नै नचाहेको हुँदा ठेकेदारको बैंक ज्ञोरन्टी खिचिने छ ।’
तुलसीपुरकै उर्जा केशब जेभीले उक्त बाटो निर्माणको जिम्मा लिएको र भने अनुरुप काम पुरा नगरेको हुँदा ठेक्का रद्द गर्ने सल्लाह भएको वडाध्यव रावतले बताए ।
बैंक ज्ञारेन्टी थुतेर कालो सूचिमा राख्ने तथा तीन बर्षसम्म कुनै काम गर्न नपाउने गरि कारबाहीको प्रक्रिया अगाडि बढाउने वडाध्यक्ष रावतले जानकारी दिए ।
त्यसपछि पुनः उक्त सडक खण्ड निर्माणको लागि नयाँ टेन्डर आह्वानको प्रक्रियापनि सुरु गरिने वडाध्यक्ष रावतले बताए । रावत वडाध्यक्षमा निर्वाचित भएपछि २०७५ सालमा टेन्डर आह्वान भइ निर्माण हुनु पर्ने भएपनि रोकिदै आएको बन्गाउँ नवरपुर सडक खण्ड कालोपत्रे निर्माणको काम भएको थियो ।
नेकपा एमालेका नेता रावतले आँफुले जितेपछि तुलसीपुरका १९ वडा मध्य बिकास निर्माणको काममा सबै भन्दा सक्रियता देखाएको र सबै भन्दा बढी बिकास निर्माणका काम गर्न सफल देखिएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।
‘वडाध्यक्ष रावत बिकास निर्माणको सवालमा तुलसीपुरका अन्यवडाध्यक्ष भन्दा चम्किएका छन् भन्ने आधारहरु देखिन थालेका छन्,’ एक वडाबासीले भने ‘ हामीलाई चाहिएको बिकास हो, जस्ले गर्छ उस्लाई ग¥यो भन्नु इमान्दारिता हो ।’
तर, वडाध्यक्ष रावतले भने तुलसीपुरका मेयर टीकाराम खड्काको सदासयता र सहयोगी भूमिकाका कारण आफ्नो वडामा साना तिना बिकास निर्माणको काम गर्न सजिलो भएको प्रतिक्रिया दिए ।
‘मेयर सापको असहयोग भए मैले केही गर्न सक्थिन होला,’ उनले भने ‘ हाम्रो वडाको बिकासका लागि मेयर सापको निकै सकारात्मक रोल रहेको छ ।’
हक्की स्वभावका रावत बिगतमा बिभिन्न कारणले बिबादित बनेपनि वडाध्यक्षमा निर्बाचित भएपछि उनले वडाको बिकास निर्माणमा खेलेको सकारात्मक भूमिका कारण वडाबासी खुसी रहेको नवरपुरका एक जना चौधरी युवाले बताए ।
‘ कुनैपनि ठाउँको बिकास तेरो मेरो भन्ने आधारमा होइन, आवश्यकताका आधारमा गरिनु पर्छ ,’ उनले भने ‘ रावतजीले आफ्नो पार्टीका ब्यक्तिले मेयर जितेकाले नगरबाट मात्रै हैन प्रदेश सरकारबाट पनि राम्रै बजेट पार्न सक्नु उहाँको खुबीको भन्ने मलाई लाग्छ ।’
निर्वाचन अघि गाउँमा आएर रावतले बन्गाउँ–नवलपुर बाटो बनाएरै छोड्ने बाचा गरे अनुरुप त्यसको केही समय पछि कालो पत्रको काम सुरु भएपछि उनी बचनका पक्का रहेछन् भन्ने आधारहरु देखिएको उनले बताए ।