२०८२ असार १ गते सोमवार

नवराज बिकसहित ६ जनाको हत्या काण्डमा २३ जनालाई जन्मकैदको फैसला

नवराजकी प्रेमिका, उनका भाइ र आमालाई जातीय विभेदसम्बन्धी मुद्दामा २ वर्षको कैद र ५० हजार रुपैयाँ जरिवाना

दाङ, मंसिर १९ । जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनाका थुनामा रहेका २३ जनालाई जन्मकैद सजाय सुनाएको छ।


जसमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका –८ का तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्ल, सोती गाउँका नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, डिल्ली मल्ल , प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, इदबहादुर ठकुरी, तिलक चन्द, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, विष्णु मल्ल, सविन पुन, नवीनकुमार घर्तीमगर, विराज पुन मगर, धनराज राना, भिमबहादुर पुन, रमित पुन मगर, मोहन पुन मगर रहेका छन् ।


नवराजकी प्रेमिका, उनका भाइ र आमालाई जातीय विभेदसम्बन्धी मुद्दामा २ वर्षको कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ। उनीहरूलाई यसअघि साधारण तारेखमा छोडिएको थियो।

साधारण तारेखमा छुटेका ११ जनामध्ये ८ जनालाई भने सफाइ दिइएको छ ।

जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासमा आइतबार सुरु अन्तिम बहस सकेपछि तीन दिन पछि मंगलबार फैसला आएको हो ।


मुद्दाको अन्तिम सुनुवाइमा २३ जना वकिलहरूले बहस गरेका थिए । सुनुवाइका क्रममा सरकारी वकिलसहित १८ जनाले वादी (पीडित) तर्फबाट र पाँच जना निजी वकिलहरूले प्रतिवादी (पीडक) तर्फबाट बहस गरेका थिए ।
बहसका लागि २४ जना वकिलले नाम दर्ता गराएको भएपनि एक जनाले बहस गरेका थिएनन् ।


जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीया नवराज विक र चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी युवतिका बीचमा प्रेम सम्बन्ध रहेको थियो ।
२०७७ जेठ १० गते नवराजकी प्रेमिकाले नै अन्यत्रै विवाह गरिदिन लागेको भन्दै आँफुलाई लिन भनेर बोलाएकी थिइन । त्यसैले नवराज १८ जना साथीहरूका साथमा सोती गाउँ पुगेका थिए ।


बेलुका पाँच बजेतिर नवराजलाई देखेपछि युवतीकी आमाले तल्लो जातको मान्छेले माथिल्लो जातको छोरी ताक्ने भन्दै गाली गरेकी थिइन ।


त्यसपछि उनीहरु फर्किने क्रममा मध्यपहाडी लोकमार्गको माथिल्लो भागमा लाठी र घरेलु हतियारसहित आएका सोती गाउँका स्थानीयले एकाएक उनीहरुमाथि आक्रमण थालेका थिए ।


उक्त आक्रमणबाट जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक , सोही जिल्लाको भेरी नगरपालिका–४ का १७ बर्षीय गणेश बुढामगर, २१ वर्षीय सञ्जु विक, भेरी नगरपालिका–११ का १८ वर्षीय लोकेन्द्र सुनार, गोविन्द शाही र रूकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का २० वर्षीय टीकाराम नेपालीको मृत्यु भएको थियो ।

उनीहरूको शव भेरी नदीमा फरक फरक स्थानमा दुई हप्ता पछि सम्म फेला परेको थियो । उक्त घटनामा १२ जनालाई घाइते भएका थिए ।


घटना भएको तीन दिनमा २०७७ जेठ १३ गते नवराजका बुबा मुनलाल नेपालीले २० जनाविरूद्ध जिल्ला प्रहरी कार्यालय जाजरकोटमा किटानी जाहेरी दिएका थिए।


नवराजका बुबा मुनलाल नेपालीले जिल्ला अदालतमा २०७७ जेठ ३२ गते मुद्दा दायर गरेका थिए ।

मुनलाले चौरजहारी नगरपालिका –८ का तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध मुद्दा सांघातिक आक्रमण गरि हत्या गरेको भन्दै किटानी जाहेरी दिएका थिए ।

अभियुक्त मध्य ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछूत कसुर सम्बन्धि मुद्दा दायर गरिएको छ भने एक जनालाई मतियारको अभियोग लगाउँदै मुद्दा दायर भएको थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *