२०८३ कार्तिक २५ गते मङ्गलवार

भूकम्प पीडित दुईजना सुत्केरीलाई आर्थिक सहयोग

रुकुम पश्चिम, मङ्सिर १९ । भूकम्पको कारण यति बेला सबैभन्दा बढी बालबालिका, ज्येष्ठ नागरिक र सुत्केरी महिला प्रत्यक्ष मारका परेका छन् ।

त्रिपालमुनि बसिरहेका भूकम्प पीडितहरूको स्वास्थ्य हिउँदे वर्षाको कारण थप जोखिममा परेको छ ।

यस्तो बेला रुकुम पश्चिमका दुई जना सुत्केरीलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । जिल्लाको आठबिसकोट नगरपालिका १४ की १८ वर्षीया कल्पना बिक र सानीभेरी गाउँपालिका वडा नम्बर ४ निवासी २६ वर्षीया माया घर्ती ओलीलाई सहयोग उपलब्ध गराइएको हो ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (फ्रान्स) ले दुई जना सुत्केरीलाई जनही ५८ हजार पाँच सयका दरले एक लाख १७ हजार रुपियाँ आर्थिक सहयोग गरेको हो ।

समाजका युरोप क्षेत्रीय समितिका संयोजक प्रकाश तिवारीका अनुसार तिहार धमाकाको अवसरमा हरेक वर्ष गरिने कार्यक्रम स्थगित गरेर भूकम्प प्रभावित सुत्केरीलाई सहयोग गरिएको हो ।

समाजका अध्यक्ष आभास आचार्यले विपद्को बेला जोखिममा रहेका सुत्केरीहरूलाई आवश्यक राहत तथा स्वास्थ्य सामाग्री खरिदमा सहयोग पुर्‍याउने उद्देश्यले सहयोग गरिएको बताए । उनका अनुसार चिसो मौसममा सुत्केरीहरूको स्वास्थ्यमा थप समस्या नआओस् भनेर सहयोग गरिएको हो ।

कल्पनाको १९ दिने छोरा रहिस् बिकको भूकम्प परेर मृत्यु भएको थियो । शल्यक्रिया गरेर छोरालाई जन्म दिएकि उनी भूकम्पमा परेर घाइते समेत भएकी थिइन ।

त्यसै गरी मायाको श्रीमान् पूर्ण र छोरा प्रणवको पनि भूकम्पकै कारण मृत्यु भएको थियो । काखमा रहेकी छोरीलाई भूकम्पबाट जोगाउन सफल मायाको घर र जाजरकोटको रिम्ना बजारमा सञ्चालित व्यवसाय ध्वस्त भएको छ ।

दुवै जना पीडितहरू अहिले त्रिपालमुनि बसिरहेका छन। भूकम्पले सन्तान गुमाएका उनीहरु मानसिक रूपमा समेत विक्षिप्त छ्न ।

पत्रकार महासङ्घ रुकुम पश्चिमका जिल्ला अध्यक्ष लक्ष्मण केसी मार्फत पीडितहरूको घरमा गएर उक्त रकम उपलब्ध गराइएको हो ।

सहयोग रकम हस्तान्तरणमा सानीभेरी गाउँपालिका ४ का वडा अध्यक्ष मनोज बुढाथोकी, जाजरकोटको रिम्ना प्रहरी चौकीका निमित्त प्रमुख शेरबहादुर चन्द, घेत्मा स्वास्थ्य चौकीका प्रमुख देव बहादुर चन्द लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *