दाङ, मंसिर १७ । जाजरकोटका नवराज विकसहित ६ जनो सोती हत्या काण्ड बारेमा आजदेखि अन्तिम बहस सुरु भएको छ ।
जिल्ला अदालत रुकुम पश्चिममा आज कार्यालय समयदेखि अन्तिम बहस सुरु भएको अदालतका सूचना अधिकारी गोबिन्दप्रशाद कोईरालाले बताए ।
अन्तिम बहसका लागि नेपालका बिभिन्न अदालतहरुबाट २२ जना वकिलहरु रुकुम जिल्ला अदालत पुग्ने छन् । काठमाडौं, कास्की, दाङ, सुर्खेतसहितका मुलुकका बिभिन्न अदालतमा कार्यरत २२ जना वकिलहरु रुकुम पश्चिम आउने सूचना अधिकारी कोईरालाले जानकारी दिए ।
‘ कति आइसक्नु भएको छ र कति जना अझैं बाटोमै हुनुहुन्छ,’ कोईरालाले भने ‘ सबै उहाँहरु आजै आइपुग्ने भन्ने छ ।’
जिल्ला न्यायाधिस खड्गबहादुर केसीको इजलासमा सबै भन्दा सुरुमा सरकारी वकिलले बहस गरि रहेका छन् । त्यसपछि पीडित पक्ष अर्थात जाहेरी वालाको तर्फबाट वलिकहरुले बहस गर्ने छन् । त्यसपछि थुनुवा प्रतिबादीको तर्फबाट र अन्तिममा खण्डन बहस हुने छ ।
२२ जना वकिलहरु मध्य एक जनाले कम्तिमा पनि एक घन्टा बहस गर्ने आँकलन गरिएको छ । त्यसो भएको खण्डमा अन्तिम फैसला आउन झन्डै हप्ता दिन लाग्ने अनुमान गर्न सकिने अदालतका सूचना अधिकारी कोईरालाले बताए ।
०७७ साल जेठ १ जाजरकोटको रानागाउँका २१ बर्षीय नवराज विकसहित उनका साथीहरु रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ८ सोती गाउँकी एक जना मल्ल थरकी युवतीसँगको प्रेम र विवाहको कुराका कारण उनीहरुको सुनियोजित तरिकाले हत्या भएको थियो ।
नबराज बिक र उनका साथीहरु माथि दलितले ठकुरीकी छोरीसँग विवाह गर्न खोजेको भन्दै युवतिका आफन्तको उक्साहटमा सोती गाउँका स्थानीयले उनीहरुलाई लेखेटेर हत्या गरेको आरोप लाग्दै आएको छ ।
त्यस घटनामा ६ जनाको हत्या भएको थियो । भेरी नदीमा उनीहरुको शबहरु भेटिएका थिए । उक्त घटनामा थप १२ जना घाइते भएका थिए। त्यो घटना छानबिन गर्न नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा संसदीय छानबिन समिति गठन गरिएको थियो। त्यो समितिले पनि घटना नियोजित भएको निष्कर्षसहितको प्रतिबेदन बुझाएको थियो ।
सोती काण्डका हत्या आरोपित ३४ जनालाई प्रतिवादी बनाई जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। प्रतिवादीहरुविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा सजाय मागदाबी गरिएको छ।
मुद्दाका अभियुक्तमध्ये जिल्ला अदालतले २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तत्कालिन वडाध्यक्षपनि पूर्पक्षका लागि थुनामा पठाइएका थिए ।
११ जनालाई भने अदामलतले तारेखमा छाड्न आदेश दिएको थियो ।