२०८२ असार ७ गते आइतवार

नक्कली भुटानी शरणार्थी प्रकरण ः थुनुवाको निवेदनमा आज आदेश आउने सम्भावना

काठमाडौँ ,मंसिर १५ । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशविरूद्ध उच्च अदालत पाटनमा परेका निवेदनमा आज (शुक्रबार) आदेश आउने सम्भावना छ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन खोजेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तले उच्च अदालतमा दिएका निवेदनबारेको बहस आज सकिने सम्भावना छ।

उच्च अदालत पाटनका रजिस्ट्रार ठगीन्द्र कट्टेलका अनुसार प्रतिवादीका तर्फबाट जवाफी बहस अन्तिम चरणमा पुगेको छ र सम्भवतः आज सकिएर आदेश आउने सम्भावना छ।

आफूलाई थुनामुक्त गरेर मुद्दाको अन्तिम किनारा लगाउन माग गर्दै प्रतिवादीका तर्फबाट उच्च अदालतमा फरक–फरक मितिमा निवेदन दिइएका थिए।

यस्तै उनीहरूलाई थुनामै राख्नुपर्ने जिकिर गर्दै सरकारी वकिल कार्यालयले पनि छुट्टाछुट्टै निवेदन दर्ता गराएको थियो। निवेदनमा यही मंसिर ५ गतेदेखि नियमित सुनुवाइ गरेर हिजो (बिहीबार) सकिएको थियो।

ठगी, किर्ते, संगठित अपराध र राज्यविरुद्धको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौँले ३० जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा मुद्दा पेस गरेको थियो। जसमा १० जना फरार छन्।

यस प्रकरणअन्तर्गत नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसभासद आङटावा शेर्पा, सानु भण्डारी, केशव दुलाल, सागर राई, सन्देश शर्मा, इन्द्रजित राई, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हरिभक्त महर्जन र आशिष बुढाथोकी पुर्पक्षका लागि थुनामा छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले २० जनालाई पक्राउ गरेको थियो। जसमध्ये १७ जनालाई पुर्पक्षका लागि थुनामा र तीन जनालाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको थियो।

प्रकाशित मिति : २०८० मङ्सिर १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *