दाङ, मंसिर १३ ।दाङको घोराहीमा जिल्लाकै पहिलो स्केटिङ क्लब खुलेको छ ।
चितवन भरतपुरका ३३ बर्षीय इश्वर थापा मगर र दाङ घोराहीका ३० बर्षीय युरेन्द्र बुढा मगरले मिलेर घोराहीमा यो स्केटिङ क्लब खोलेका हुन ।
इश्वरका अनुसार हालसम्म उनीहरुको ८० लाख खर्च भइ सकेको छ । ११ बर्ष कोरियामा बिताएका इश्वरले त्यहाँ छँदा आँफुले खेल्ने गरेको स्केटिङको दाङमा राम्रो संभावना देखेरै मिलेर स्केटिङ क्लब खोलेको बताए ।
यो स्केट हल निर्माणको काम असार महिनादेखि सुरु भएको थियो । निर्माण पुरा भएपछि घटस्थापनका दिन असोज २८ गते उद्घाटन भएको हो । जग्गा भाडामा लिएर उनीहरुले स्केटिङ क्बल खोलेका हुन ।
स्केटिङ प्रति किशोर किशोरीको आकर्षण बढ्दै गएको देखेर उनीहरु उत्साहित छन् । स्केटिङ किशोर किशोरी खेल्ने र रमाउने स्थल बन्न थालेको छ । जहाँ शनिबार र सार्वजनिक बिदाको दिन पालो पाउनै मुस्किल हुन्छ । दिनमा कम्तिमा साढे दुई सयदेखि तीन सय जनासम्म स्केटिङ क्लमा खेल्न आउने गरेका छन् ।
स्केटिङ खेल्न एक घन्टाको दुई सय, ३० मिनेटको डेढ सय, एक महिनाको चार हजार दुई सय , १५ दिनको दुई हजार दुई सय र हप्ता दिन खेल्न चाहानेले एक हजार एक सय तिर्नु पर्ने नियम रहेको छ ।