२०८२ असार ५ गते शुक्रवार

प्रदुषण गर्ने चिनी मिल विरुद्ध स्थानीयबासी आन्दोलित


पश्चिम नवलपरासी,मंसिर १२ । लुम्बिनी चिनी मिलको प्रदूषण न्युनीकरण गर्न माग गर्दै स्थानीय आन्दोलित भएका छन्।

पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सञ्चालित लुम्बिनी चिनी मिलको बढ्दो प्रदुषणले स्थानीयको जनस्वास्थ्यमा प्रतिकुल असर पारीरहेकोले उक्त प्रदूषण न्युनीकरण गर्न मिलसँग माग गर्दै सुनवलवासी आन्दोलित बनेका हुन्।

सुनवलका स्थानीय जनताले लुम्बिनी चिनी उद्योग प्रदूषण नियन्त्रण संघर्ष समिति गठन गरी पत्रकार सम्मेलनमार्फत उक्त मागबारे जानकारी दिएका हुन्।

विसं २०४६ सालमा तत्कालीन श्री ५ सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार जिल्लाको सुनवल नगरपालिका वडा १ मा लुम्बिनी चिनी कारखाना लिमिटेडको स्थापना भएको थियो।

सो समयदेखि सञ्चालनमा रहेको चिनी मिल २०६२ सालमा निजीकरण भएदेखि झनै प्रदूषणको अवस्था बढ्दै गएको स्थानीय बताउँछन्।

चिनी मिल सञ्चालकले मिलको प्रदूषण न्युनीकरणका लागि आधुनिक प्रविधिको प्रयोग नगरेकाले मिल र डिष्टिलरीबाट निस्किने धुँवा, खरानीले बजार प्रदूषित बनेको उनीहरूको भनाइ छ।

डिष्टिलरीबाट निस्किने दुषित फोहोर पानीले सुनवल बजार नै दुर्गन्धित भइ मानिसको स्वास्थ्यमा प्रत्यक्ष प्रतिकूल असर पारीरहेको संघर्ष समितिका उप संयोजक टेकप्रसाद न्यौपानेले बताए।

चिनी मिलले विगत वर्षदेखि नै मिलबाट प्रदूषण न्युनीकरणका लागि विभिन्न सहमति सम्झौता गरेपनि हालसम्म कार्यान्वयन गरेको छैन।

मिल सञ्चालकले उद्योगबाट निस्किने धुँवा, खरानी र फोहोर दुषित पानी न्युनीकरणका लागि कुनै उपाय नअपनाउँदा सुनवलबासी त्यसको प्रत्यक्ष मारमा परिहेको संघर्ष समितिका संयोजक युवराज ढकालले बताए।

उनले मिलले प्रदूषण न्युनीकरण नगरे मिल चलाउन नदिने भन्दै आगामी दिनमा थप दबाब दिन विभिन्न दबाबमूलक कार्य गर्ने चेतावनी दिए।

८६ विगाहा क्षेत्रफलमा फैलिएको उक्त चिनी मिलमा चिनी मिल, स्प्रिट प्लान्ट र रक्सी उत्पादन प्लान्ट गरी ३ वटा कारखाना सञ्चालनमा छ। मिलबाट निस्किने धुवाँ र खरानी उडेर घरहरूमा पस्ने र सुकाएको कपडामा टाँसिएर फोहोर हुनुका साथै श्वास लिन समेत अप्ठ्याराे बनाएको उनीहरूको भनाइ छ।

उता डिस्टिलरीबाट निस्किने प्रदूषित पानी सिधै खोलामा मिसाउँदा बजार नै दुर्गन्धित हुँदै गएको संघर्ष समितिको आरोप छ। चिनी मिलबाट पालिकाको वडा १,३,४ र ६ वडा प्रत्यक्ष मारमा परेको र यसबाट करिब ७० हजार जनसंख्या प्रभावित बनेका छन्।

प्रदुषण रोकथामका लागि संघर्ष समितिले पटकपटक मिल र सरोकारवालाहरूसँग समन्वय सहकार्य गरेपनि कुनै सुनुवाइ नभएकाले संघ सम्मिलिन आन्दोलन थप सशक्त बनाउने जानकारी दिएको हो।

प्रकाशित मिति : २०८० मङ्सिर १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *