तुलसीपुर,मंसिर ११ । तिहारमा तुलसीपुर क्षेत्रका दुई सामुदायिक र दुई निजी विद्यालयका विद्याथीले पाँच लाख ६३ हजारको सयपत्री फूल बिक्री गरेका छन ।
तिहार पर्वलाई लक्षित गरेर तुलसीपुरका चार विद्यालयका विद्यार्थीले पढ्दै कमाउँदै कार्यक्रम अन्तरर्गत फूल खेती गरेका थिए ।
तुलसीपुर स्थित गोरखा मोडेल कलेजका विद्यार्थीले सबै भन्दा बढी तीन लाख ५० हजारको फूल बिक्रि गरेका छन । तुलसीपुुर–६ गोलौरामा सात कठ्ठा जग्गा भाडामा लिएर गोरखाका बिद्यार्थीले फूलखेती गरेका थिए ।
कलेजका बिबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीको अगुवाइमा ९७ हजार लगानी गरेर गरिएको फूल खेतीबाट खर्च कटाएर दुई लाख ५७ हजार रुपैंया आम्दानी गर्न सफल भएको क्याम्पस प्रमुख पुर्णबहादुर डाँगीले फरककोणलाई बताए । त्यसबाट आँफुहरु उत्साहित भएको विद्यार्थी सुदीप केसीले बताए ।
कलेजका प्रत्येक विद्यार्थीले रकम संकलन गरि गरेको फूल खेतीबाट भएको आम्दानीको केही रकम साँवा र मुनाफा बाडँफाड गरिने तथा बाँकी रकमलाई सामाजिक कार्यमा लगाउने योजना रहेको उनले बताए ।
‘ आपसमा रकम संकलन गरि गरिएको फूल खेतीबाट राम्रो फाइदा भयो,’ उनले भने ‘ यो प्रतिफलबाट पुरै विद्यालय परिवार खुसी छ ।’ आँफुहरुको कर्मले समाजमा सकारात्मक सन्देश प्रभाव भएको भन्दै उनले भविश्यमा पनि केही उद्यमशिलतामा जोडिने बारे छलफल भइ रहेको फरककोणलाई बताए ।
तुलसीपुर १२ को मेट्रो कलेजका विद्यार्थीले सय पत्रीका फूल र माला बेचेर एक लाख ३० हजार कमाउन सफल भएका छन् ।
विद्यालय हाताभित्र रहेको ६ कठठा जग्गामा करिब ६० हजार लगानी गरिएको फूल खेतीबाट खर्च कटाएर ७० हजार आम्दानी भएको कलेजका कृषि प्रशिक्षक घनश्याम केसीले जानकारी दिए ।
उनका अनुसार कलेजका ‘डिप्लोमा इन एग्रिकल्चर’ कृर्षि चौथो सत्रान्त र डिप्लोमा इन फरेष्टी दोस्रो वर्षमा अध्ययनरत करिब ७० जना विदार्थीले मिलेर फूल खेती गरेका थिए । खेतीमा सबै लगानी मेट्रो कलेजले गरेको थियो । पढ्दै–कमाउदैँ अन्र्तगत मेट्रो कलेजका विद्यार्थीले गत वर्षदेखि फूल खेती सुरु गरेका थिए ।
फूल खेतीबाट आम्दानी भएको रकम विद्यार्थीकै परियोजनामा प्रयोग गरिने र केही सामाजिक हितको लागि खर्च गरिने कृषि प्रशिक्षक केसीले बताए । कलेजमा अध्यनरत विद्यार्थीले अहिले माछा पालन, च्याउ खेती लगाएतका विभिन्न ब्यबसाय सञ्चालन गरेका छन ।
त्यस्तै तुलसीपुर– ११ स्थित अमर मावि उरहरीका विद्यार्थीले ६५ हजार बराबरको फूल बिक्रि गरेका छन ।
विद्यालयका कृषि पशु विज्ञान दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीले विद्यालय हाता भित्र रहेको चार कठ्ठा जग्गामा गरिएको फूल खेतीबाट खर्च कटाएर ४७ हजार आम्दानी गरेको विद्यालयका प्रध्यानाध्यापक पदमबहादुर वलीले फरककोणलाई बताए ।
विद्यार्थीले ‘अमर उद्यमी क्लव’ गठन गरेर १८ हजार लगानी गरि फूल खेती गरेका थिए ।
त्यस्तै तुलसीपुर–४ स्थित गुरु जजुर मावीका विद्यार्थीहरुले फूल बिक्रि गरेर १८ हजार कमाएका छन । विद्यालयको डेढ कठठ जग्गामा गरिएको फूल खेतीबाट सबै खर्च कटाएर १३ हजार मुनाफा भएको विद्यालयका कृषि कोडिनेटर समिक्षा गुप्ताले फरककोणलाई जानकारी दिइन ।
उनका अनुसार विद्यालयका कृषि बाली बिज्ञान दोस्रो र तेस्रो वर्षमा अध्नयरत ३६ जना विद्यार्थीले ‘गुरु जजुर उद्यमी क्लव’ गठन गरि फूल खेती गरेका थिए ।
उनीहरुलाई विद्यालयले फूलको बिउ किन्नका लागि ५ हजार लगानी गरिदिएको थियो । परीक्षणका लागि गरिएको भएपनि फूल खेतीले दिएको प्रतिफलबाट विद्यार्थी र विद्यालय परीवार उत्साहित बनेको उनले बताइन ।
आगामी वर्षमा लगानी बढाएर फूलखेती गर्ने योजना रहेको सुनाइन । यसवर्ष गुरु जजुर मावीका विद्यार्थीले प्याजका बेर्ना, टमाटर खेती, काउली, रिसर्चको लागि धान खेती
समेत गरेका थिए ।
यी सबै विद्यालयका विद्यार्थीले तुलसीपुर उपमहानगरपालिकाले निर्धारण गरेको मूल्य अनुसार फूल बिक्रि वितरण गरेको थिए ।
उपमहानगरले पहिलो पटक तुलसीपुरमा फूलको मूल्य निर्धारण गरेको थियो । प्रतिकेजी तीन देखि साढे ३ सय सम्म फूल बिक्रि गरिएको थियो ।