दाङ, मंसिर ७ । बर्दियाका २० वर्षीय वरुण घिमिरेको हत्यामा संलग्न आरोपित मध्य थप दुई जना पक्राउ परेका छन् । उनीहरु पक्राउ परेसंगै ११ जना सबै पक्राउ परेको प्रहरीले बताएको छ ।
बर्दियाका प्रहरी प्रमुख एसपी सुधीरराज शाहीले घिमिरेको हत्यामा संलग्न भनिएका आरोपितमध्ये गुलरिया–५ बंगलामुखी टोलका २० वर्षीय आलोक आश्रित र गुलरिया–४ गणेश चोकका १९ वर्षीय सुरेश सुनार बिहीबार पक्राउ परेको जानकारी दिए ।
घटना पछि भागेर छिमेकी देश भारत पुगेका उनीहरुलाई प्रहरीले भारतीय प्रहरीको सहयोगमा पक्राउ गरि नेपाल ल्याएको स्रोतले बताएको छ । आरोपितमध्ये गुलरिया नगरपालिका–६ का सुरेश भनिने १९ वर्षीय सुयस थापा आइतबार पक्राउ परेका थिए भने यसअघि नै पाँच जना पक्राउ परिसकेका बताए ।
गुलरिया– ८ गंगानगर टोलका १९ वर्षीय दिनानाथ चौधरी, गुलरिया–६ ज्योतिनगरका २४ वर्षीय धिरज ठाकुर, गुलरिया– ८ कोठियाका १९ वर्षीय सन्दिप थारु, गुलरिया–६ गुलरिया बजारका २३ वर्षीय सुलभ थापा, गुलरिया–५ बंगलामुखी टोलका १९ वर्षीय दिपेश बुढा मगरलाई पक्राउ पछि यसअघि नै प्रहरीले सार्वजनिक गरि सकेको थियो ।
घिमिरेको हत्यामा सहयोगी भूमिका खेल्ने थप तीन जना पनि यसअघि नै पक्राउ परि सकेका थिए । उनीहरु गुलरिया–६ कृष्णसार टोलका १८ वर्षीय रक्षक भनिने रोशन शाह, गुलरिया–४ गणेश चोकका १८ वर्षीय निश्चल थापा क्षत्री र ठाकुरबाबा नगरपालिका–३ विदुरपुरका २३ वर्षीय तर्क भण्डारी रहेको प्रहरीले बताएको छ ।
कात्तिक २७ गते मध्यराति गुलरिया नगरपालिका–५ का २० वर्षीय वरुण घिमिरेलाई एक समूहले धारिलो हतियार प्रहार हत्या गरेको थियो।