दाङ,मंसिर ७ । दाङमा पाँच र १० रुपैयाँको हुलाक टिकट अभाव भएको छ । सरकारी कार्यालयमा निवेदन लगायतको प्रयोजनमा अनिवार्य गरिएको हुलाक टिकट अभाव हुँदा सेवाग्राही मर्कामा परेको गुनासो आएको छ ।
सरकारी कामको सबैभन्दा बढी प्रयोजनमा आउने पाँच र १० को टिकट अभाव भएको हो । अहिले जिल्ला हुलाक कार्यालयमा पाँच, आठ र नौ रुपैयाँको टिकट नै छैन । रु.१० को टिकट पनि सकिने अवस्थामा छ । टिकट सकिन लागेकै कारण हुलाकबाट प्रति व्यक्ति एउटा मात्रै टिकट दिन थालिएको छ ।
जिल्ला हुलाक कार्यालय दाङका प्रमुख शोभाराम बस्नेतले मंगलबारसम्म रु. १० को टिकट तीन हजार चार सय ४० मात्रै रहेको जानकारी दिए । उनले तिहार अगाडिबाटै टिकट नआएका कारण अभाव सिर्जना भएको बताए ।
उनले काठमाडौंबाट टिकट आउने क्रममा रहेको जानकारी दिदै आइतबारदेखि सहज हुने बताए । दशैं तिहारको बीचमा टिकट नआएकोले अभाव सिर्जना भएको उनको भनाइ छ । मंगलबारसम्मको रेकर्डमा जिल्लामा रु। एकको ३५ हजार नौ सय ९०, दुईको ८९ हजार सात सय ६०, रु.तिनको २५ हजार थान रहेको छ ।
त्यसैगरी रु. ११ को सात हजार तीन सय, रु. २० को चार हजार दुई सय र रु. ४० को तीन सय थान टिकट रहेको कार्यालयले जानकारी दिएको छ ।
जिल्ला हुलाक कार्यालय दाङका अनुसार दाङ जिल्लाभर महिनामा साढे तीनदेखि साढे चार लाखसम्मको हुलाक टिकट खपत हुँदै आएको छ ।