तुलसीपुर, मंसिर ५ । तुलसीपुरमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा विभिन्न कार्यक्रम गरिने भएको छ ।
तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाका आयोजना तथा तुलसीपुरमा क्रियाशिल विभिन्न संघसंस्थाको समन्वयमा विभिन्न कार्यक्रम गरिने भएको हो ।
अभियानको शुभारम्भ मंसिर ९ गते बिहान ८ बजे उपमहानगरपालिकाको प्रांगणमा गरिने शाखा प्रमुख माया श्रेष्ठले जानकारी दिइन ।
संवाद समूह, न्यूसिपीसी, दलित महिला संघ दाङ, रेडियो हाम्रो पहुँच लगायतका संघसंस्था लगायतको समन्वयमा फरक-फरक मितिमा लैंगिक हिंसा न्यूनिकरणका लागि विभिन्न सचेत कार्यक्रम गरिने प्रमुख श्रेष्ठले बताइन ।
अभियान अन्तर्गत जनप्रतिनिधि र सरोकारवालासंग लैंगिक हिंसाको नकारात्मक प्रभावका बारेमा संवाद, तुलसीपुरका महिलाको अवस्थाका विषयमा प्रतिवेदन सार्वजनिक गर्ने, सहायता आवश्यक परेका महिलालाई सहयोग गर्ने, लैंगिक हिंसाका विषयमा जनप्रतिनिधिसंग रेडियो कार्यक्रम संचालन गर्ने लगायतका कार्यक्रम तय गरिएको छ ।
अभियानलाई सफल बनाउन मंगलबार तुलसीपुरमा भएको छलफल कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका उपमेयर स्यानी चौधरीले हिंसा विरुद्धको सचेतना अभियान वडामा कार्यक्रम गर्नुपर्ने बताइन ।
बाल अधिकारकर्मी नवराज लामिछाने , महिला मानव अधिकारकर्मी शुष्मा गिरी, दलित महिला संघ दाङका अध्यक्ष युवा करारा, राप्ती बहिरा संघका कार्यकारी निर्देशक प्रतिमा शर्मा लगायतले अभियानलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताइन ।
तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास शाखा संयोजक मान बहादुर रावतको अध्यक्षता एवं उपप्रमुख चौधरीको प्रमुख आतिथ्यतामा छलफल कार्यक्रम गरिएको हो । कार्यक्रमको सहजीकरण महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले गरेकी थिइन् ।