तुलसीपुर,मंसिर ४ । सोमवार ३४औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस दाङ लगाएत देशैभर विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।
संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको दिनलाई स्मरण गरी पक्षधर राष्ट्रले आजका दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको रुपमा मनाउँदै आइएको छ ।
दिवसका अवसरमा तुलसीपुरमा पनि “प्रत्येक बालबालिकालाई ः प्रत्येक अधिकार” भन्ने नाराका साथ अन्तराष्ट्रिय बाल दिवस मनाइएको छ ।
सोमवार तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा,न्युसिपिसी तुलसीपुर,सिर्जना बालक्लव मावी तुलसीपुर सेन्टर र नगर बाल सञ्जाल तुलसीपुरको संयुक्त आयोजनामा मावी तुलसीपुर सेन्टरमा बाल दिवस मनाइएको हो ।
सिर्जना बालक्लव मावी तुलसीपुर सेन्टरका अध्यक्ष राजु बिकको अध्यक्षता तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खडकाले बालबालिकाको अधिकारलाई सुनिश्चित गर्दै समाजलाई सुन्दर बनाउने अभियानमा उपमहानगरपालिका लागि परेको बताए ।
कार्यक्रममा बाल अधिकारकर्मी नबराज लामिछाने बाल अधिकारको अबधारणा प्रस्तुत गरेका थिए ।
नेपालको कुल जनसख्या मध्ये २५ % बालबालिका रहेको बताउदै उनले हरेक क्षेत्रमा बालबालिकाको अबधारणा अधि सार्नुपर्नेमा जाेड दिए ।
उनले राज्यले दिने शिक्षा बालबालिकाको ब्यक्तित्व,योग्यता,मानसिक र शारीरिक क्षमताको बिकास गर्न सक्ने हुनुपर्ने पनि बताए । बाल अधिकार भित्र उल्लेख भएका कुरालाई अध्यन गर्दा ४३ % सुचक पूरा भएको र ५७% सुचक अझै बाकी रहेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी,महिला अधिकारकर्मी सुस्मा गिरी,फेडो दाङका अध्यक्ष युवा करारा, किशोरी सन्जाल लुम्बिनी प्रदेश सयोजक सुमित्रा आचार्य, बाल सञ्जालका प्रतिनिधि सुभम देबकोटा लगाएतले बालबालिकाको अधिकारलाई सुनिश्चित गर्न तिनै तहका सरकार गम्भीर भएर लाग्नुपर्ना जोड दिएका थिए ।
तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक बिकास शाखा प्रमुख माया श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सिर्जना बालक्लव मावी तुलसीपुर सेन्टरका सचिब भुपाल खडकाले गरेका थिए ।
त्यस अबसरमा माबी तुलसीपुर सेन्टर र मेट्राे कलेज तुलसीपुरका विद्यार्थीहरुको सहभागीता रहेको थिए ।