२०८० मङ्सिर १६ गते शनिवार

दाङमा दसैँ र तिहारको अबधिमा दुईसय बढी दुर्घटना, ६ जनाको मृत्यु


घोराही, मङ्सिर ३ । दाङमा दसैँ र तिहार पर्वको समयमा दुईसय बढी सवारी दुर्घटना भएका छन् ।

दसैँ र तिहार पर्वका अवसरमा गत असोजको २७ गतेदेखि कात्तिक ३० गतेसम्म करिब एक महिनाको अवधिमा दुई सय ३१ वटा सवारी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्लाका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु र दुईसय २६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए।

प्रहरी उपरीक्षक केसीका अनुसार दुर्घटनामा एकसय ६५ पुरुष र ६१ जना महिला घाइते भएका छन् ।

यो गतवर्षको चाडपर्वको समयमा भएका सवारी दुर्घटनाको तुलनामा बढी हो । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गत वर्ष दसैँ र तिहार पर्वको अवसरमा करिब एक महिनाको अवधिमा एक सय ११ वटा सवारी दुर्घटना भएका थिए ।

जसमा ८७ जना घाइते र ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्लामा सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले प्रयास गरे पनि चाडपर्वको समयमा साना ठुला दुई सय ३१ वटा सवारी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक केसीले बताए ।

प्रहरी उपरीक्षक केसीले भने, ‘चाडपर्वको समयमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सावधानी अपनाए पनि साना सवारी दुर्घटना धेरै भएका छन् । तर मानवीय क्षति भएको छैन ।’

चाडपर्वको समयमा बढी भिडभाड हुने, लाइसेन्स नभएका र मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने भएका दुर्घटना बढी हुने गरेको प्रहरी प्रमुख केसीले बताए ।

उनका अनुसार दुर्घटना मोटरसाइकल, स्कुटर, बस, ट्याक्टर, जिप लगायतका सवारी साधनहरू रहेका छन् ।

प्रकाशित मिति : २०८० मङ्सिर ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *