२०८१ असोज २४ गते बिहिवार

भारतले दियो अस्ट्रेलियालाई २ सय ४१ रनको लक्ष्य


काठमाडौं,मंसिर ३ । एकदिवसीय विश्वकप २०२३ को फाइनलमा भारतीय ब्याटर अस्ट्रेलियाविरुद्ध २ सय ४१ रनको लक्ष्य दिन सफल भएको छ।

अस्ट्रेलियन बलरसामु खुलेर खेल्न नसकेको भारत निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय ४० रनमा समेटियो। उत्कृष्ट बलिङ र फिल्डिङ गरेको अस्ट्रेलिया केही समयपछि जवाफी ब्याटिङका लागि मैदान उत्रिँदै छ।

भारतका लागि विराट कोहली र केएल राहुलले अर्धशतकीय इनिङ खेल्नुबाहेक अन्य ब्याटरले अर्धशतक बनाउन सकेनन्। उसका लागि केएल राहुलको ६६ रन सर्वाधिक रह्यो। १०७ बल खेलेका उनले १ चौका प्रहार गरेका थिए। त्यस्तै विराट कोहलीले ४ चौकाको सहयोगमा ६३ बल खेल्दै ५४ रन बनाएका थिए।

त्यसअघि भारतले पहिलो विकेटका रुपमा ओपनर शुभमन गिललाई टिमको स्कोर ३० रन हुँदा ४.२ ओभरमा ४ रनमा गुमाएको थियो। दोस्रो विकेटका रुपमा कप्तान रोहित शर्मालाई ९.४ ओभरमा टिमको स्कोर ७६ रन हुँदा ४७ रनमा गुमायो।

त्यसपछि क्रिजमा आएका श्रेयस अय्यर ३ बलमा ४ रन बनाएर आउट भएका थिए। उसका लागि थप दोहोरो स्कोरका रुपमा सूर्यकुमार यादवको १८ रन रहँदा कुलदीप यादवले १० रन बनाए।

भारतका लागि कोहली र केएल राहुलले चौंथो विकेटका लागि ६७ रनको साझेदारी गरे पनि टिमले उच्च स्कोर बनाउन संघर्ष गर्नु परेको थियो। कोहली ५४ रन बनाउँदा कप्तान प्याट कमिन्सद्वारा बोल्ड भए।

अस्ट्रेलियाका लागि मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिँदा प्याट कमिन्स र जोस ह्याजलवुडले समान २-२ विकेट लिए। त्यस्तै ग्लेन म्याक्सवेल र एडम जम्पाले समान १-१ विकेट लिए।

घरेलु समर्थकले भरिभराउ विश्वकै सर्वाधिक ठूलो रङ्गशालामा अस्ट्रेलियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेसँगै रन वर्षाको अपेक्षामा बसेका समर्थकहरु लगातारको विकेट पतनसँगै चुपचाप रहन बाध्य भएका थिए।

दुवै टोली एक अर्काविरुद्ध दोस्रो पटक प्रतियोगिताको फाइनलमा भिडेका हुन्। उनीहरुबीच यसअघि २००३ को एकदिवसीय विश्वकपको फाइनलमा प्रतिस्पर्धा भएको थियो। जतिबेला अस्ट्रेलिया १ सय २५ रनले विजयी भएको थियो।

प्रकाशित मिति : २०८० मङ्सिर ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *