२०८१ मङ्सिर १९ गते बुधवार

बुबा,आमा र श्रीमतीको सम्झनामा विराजले गरे प्रतीक्षालय निमार्ण

तुलसीपुर कात्तिक २६ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का ६८ वर्षिय विराज चौधरीले पितृहरुको सम्झनामा प्रतीक्षालय निर्माण गरेका छन । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मोतीपुरका चौधरीले बुवा आमा टेनु र चिप्या र श्रीमती रामकलीको सम्झनामा प्रतीक्षालय निर्माण गरेका हुन ।


करिब एक लाख ७० हजारको लागतमा तुलसीपुर ११ र दंगीशरण गाउँपालिका वडा नम्बर २ जोड्ने बबई नदीको झोलुङ्गे पुलको छेऊ मोतीपुरमा प्रतीक्षालय निर्माण गरेका हुन ।

सधैँ गाईवस्तु चराउन आउँदा झोलुङ्गे पुलसम्म अटोले यात्रुलाई ल्याएर झारिदिने वा अटोको पर्खाइमा बस्दा दिने ती यात्रु कहिले वर्षायाममा निथ्रुक्कै भिज्ने त कहिले टन्टलापुर घाममा बसिरहेको दृश्य विराजले देख्थे । विराजलाई एउटा प्रतीक्षालय निर्माण गरिदिएपछि यात्रुले भोग्ने यो सास्ती सदाका लागि हट्छ कि भन्ने विचार आयो,जीवनको सात दशक बिताइसके ।

‘समाज गाउँमा केही देखिने काम गर्नुपर्छ कि भन्ने विचार आयो अनि बुवा आमा र श्रीमतीको सम्झनामा प्रतीक्षालय निर्माण गरे,उनले भने ।’


वडा सदस्य तिलक थारु त्यस क्षेत्रमा विराजले प्रतीक्षालय बनाउन अनुमति लिएको एक महिना नबित्दै प्रतीक्षालय निर्माण कार्य सम्पन्न गरेको उनले बताए । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले समाज निर्माणमा समुदायको भूमिका विशेष रहने बताए ।

‘नेपाली समाजमा पाटी,पौवा,चौतारो, धारा,कुवा, प्रतीक्षालय,विद्यालय व्यक्तिले नै निर्माण गर्ने परम्परा लोप भइरहेको अवस्थामा विराज जस्ता अगुवाको विराट कार्य सबैले अनुकरण गर्नुपर्छ,उनले भने,सामाजिक कार्यमा समुदायको सहभागिता भए मात्रै अपनत्व हुने र त्यसबाट राज्यलाई समेत त्यस्ता कार्यमा लाग्न प्रेरित गर्छ ।’


खड्काले प्रतीक्षालयको उद्घाटन गर्दै त्यस क्षेत्र वरपर तार जाली लगाउँने, जमिन सम्याउने काम पालिकाबाट गरिने बताए । उनले त्यस क्षेत्रमा सामुदायिक वनसँग समन्वय गरेर पार्क निर्माण गर्न आग्रह गरे । त्यस क्षेत्रका अगुवा तिलकबहादुुर बस्नेतले पालिकाले यस गाउँको सडक कालोपत्रे सुरु गरेको र त्यसलाई पूर्णता दिन आग्रह गरे ।


वडा सदस्य तिलकराम थारुको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा प्रतीक्षालय उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति : २०८० कार्तिक २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *