तुलसीपुर , कात्तिक २४ । कार्तिक ९ गते आफ्नै घरको अगेनामा परेर जली घाइते भएकी तुलसीपुर उपमहानगरपालिका – १९ खोलाकी २८ वर्षीया पम्पी पुनलाई घटनाको १६ दिन पछि बल्ल उपचारका लागि काठमाडौं पठाइएको छ ।
आर्थिक अवस्था निकै कमजोर भएका कारण घटना भएको दिन श्रीमान वुद्धिराम पुनले श्रीमति पम्पीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार गराउन भनेर लगेका थिए ।
उक्त अस्सपताले पम्पीको उपचार गर्न नसक्ने भन्दै काठमाडौंका लागि रिफर गरि दिएको थियो । तर, उपचार गराउने पैंशा नभएकै कारण काठमाडौं लैजान नसकेर घाइते पम्पीलाई बुद्धिरामले घरमै लगेर राख्दै आएका थिए ।
कात्र्तिक २२ गते घटनाको १५ दिन पछि एक जना स्थानीयले पम्पीको अवस्था बारे वडाध्यक्ष प्रमेनाथ योगीलाई फोन मार्फत जानकारी दिएका थिए ।
त्यसपछि वडाध्यक्ष योगीले पम्पीका श्रीमान बुद्धिरामलाई कार्यालयमा बोलाई घटनाबारे जानकारी लिनुका साथै उपमहानगरपालिकाका कार्यालयमा तत्कालै सिफारिस लेखेर पठाएका थिए । सोही दिन घाइते पम्पीलाई राप्ती प्रादेशिक अस्पतालमा पठाइएको थियो ।
कार्तिक २३ गते अस्पतालले घाउ संक्रामक भएको हुँदा तुरुन्त काठमाडौं लैजान सल्लाह दियो । बुद्धिरामको आर्थिक अवस्था थिएन ।
बुद्धिरामले अस्पतालमा हारगुहार गरे । श्रीमतीको जीवन रक्षाको अनुनयविनय गर्न थाले । यो सबै नियाली रहेका तुलसिपुर– १० का ऋषिराज वलीले मेयर टीकाराम खड्कालाई टेलिफोन गरि बुद्धिरामको याचना बारे अबगत गराए । उनी आमाको उपचार गराउन भनेर गएका थिए ।
मेयर खड्काले तत्काल आर्थिक साहेता जुटाउन थाले ।
अर्कौ तर्फ उनले स्वास्थ्य शाखाका अधिकारीलाई निशुल्क एम्बुलेसन्सको व्यवस्था गर्न र पम्पीलाई बाहिर पठाउने प्रबन्ध गर्न निर्देशन दिइ सकेका थिए।
मेयर खड्का ,स्वास्थ्य शाखा प्रमुख ओमपी न्यौपाने ,विष्णु गिरी र मेयरका छोरा सुशिलले केही बेरमै १४ हजार सहयोग जुटाए । वडा नं. १९ का वडाध्यक्ष प्रमेनाथ योगी र वडा सदस्य रामबहादुर पौडेलले थप दश हजार त्यसमा थपिदिए ।
उपमहानगरपालिकाका लेखा अधिकृत प्रदीप वली , ऋषिराज वली , लाइन्स क्लवका तुलसीपुर उपाध्यक्ष सुरेश बस्नेत, बबिश्वर भट्टराईले थप पाँच हजार दिए । २९ हजार जम्मा भएपछि पम्पीलाई काठमाडौ पठाउन संभव भएको हो । कीर्तिपुरस्थित वर्ण हस्पिटलमा लगेर उनको उपचार सुरु भएको छ ।