काठमाडौँ,कात्तिक २२ । नेपाल पत्रकार महासघंले जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राति गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पबाट प्रभावित सञ्चार संस्था तथा पत्रकारलाई राहत उपलब्ध गराउने भएको छ।
महासघंले वैदेशिक शाखा र अन्य सङ्घ संस्थामार्फत राहत सङ्कलनका लागि पहल गर्ने जनाएको छ। भूकम्पले पत्रकार तथा सञ्चार क्षेत्रमा पारेको असर र श्रमजीवी पत्रकारको पक्षमा गरिएको आन्दोलनका विषयमा पनि छलफल भएको महाससघंका अध्यक्ष विपुल पोख्रेलले जानकारी दिए।
उनले पत्रकारिता क्षेत्रलाई श्रम शोषणमुक्त क्षेत्र बनाउन महासङ्घले प्रयास गरिरहेको बताए ।
त्यस्तै अध्यक्ष पोख्रेलले कान्तिपुर मिडिया ग्रुपले महासघंलाई विभिन्न आरोप लगाउनु भन्दा गैरकानुनी ढङ्गबाट निष्कासित गरिएका पत्रकारलाई श्रमजीवी पत्रकार ऐनअनुसार सेवा,सुविधा दिन आग्रह पनि गरे।
पत्रकार महासघंका महासचिव रोशन पुरीले सकंलित राहत महासघंको केन्द्रीय समितिका पदाधिकारी, सदस्य तथा प्रदेश र जिल्ला समितिका पदाधिकारीबाट सकंलन गरेर प्रभावित क्षेत्रका सञ्चार संस्था र पत्रकारको विवरणका आधारमा वितरण गरिने बताए।
भूकम्पबाट दुईवटा सञ्चार संस्थाको भवन पूर्णरुपमा क्षति भएको छ भने महासंघका दुई जना केन्द्रीय सदस्यसहित दर्जनौं पत्रकारले बास गुमाएका छन ।