जाजरकोट,कात्तिक २२ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भूकम्प प्रभावित क्षेत्रमा गएका छन्।
कांग्रेस केन्द्रीय कार्यालयका अनुसार जाजरकोट र रुकुम पश्चिमलगायत भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि महामन्त्रीद्वय थापा र शर्मा बुधबार त्यसतर्फ गएका हुन्।
जाजरकोट भूकम्पपछिका अवस्थाबारे अनुगमन र सहजीकरण गर्न कांग्रेसले यसअघि महामन्त्रीद्वय थापा र शर्माको संयोजकत्वमा समिति गठन गरेको छ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार महामन्त्रीद्वय विशेषगरी सात कार्यमा केन्द्रित रहनेछन्।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महामन्त्रीद्वयले प्रभावित क्षेत्रबाट आवश्यकताअनुरूप संघमा सोझै प्रधानमन्त्रीलाई तथा प्रदेशमा मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराई सहजीकरण र समाधान खोज्न बल पुर्याउनु हुनेछ।’
प्रकाशित मिति : २०८० कार्तिक २२ गते बुधवार