लमही,कात्तिक २१ । कार्यालय समयभन्दा ढिलो आउने कर्मचारीलाई लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले फुलले स्वागत गरेका छन ।
पालिकामा कार्यरत कर्मचारीहरु समयमा कार्यालय नआउने गरेकोबारे सेवाग्राहीको गुनासो आएपछि छड्के अनुगमन गरिएको हो ।
ढिलो आएका कर्मचारीलाई नगर प्रमुख चौधरीले फुलले स्वागत गर्दै कर्मचारीलाई समयको ख्याल गर्दै कार्यालयमा उपस्थित हुन निर्देशन दिए ।
एक दर्जन बढी कर्मचारी कार्यालय समय भन्दा ढिलो आएको जानकारी दिंदै नगर प्रमुख चौधरीले राष्ट्र सेवक कर्मचारीलाई जिम्मेवारी बोध गराउन र समयको ख्याल गर्दै सेवा प्रवाह गर्न मद्दत पुगोस भन्ने सोचले यो कार्य थालिएको बताए ।
लमही नगरपालिका –१ का वडा अध्यक्ष दामोदर पौडेल, ३ का वडा अध्यक्ष मनोज कुमार चौधरी, ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदी, ८ का वडा अध्यक्ष उमेश कुमार खड्का सहितको टोलीले अनुगमन गरेको थियो ।