२०८२ बैशाख ११ गते बुधवार

सरकारले भूकम्प प्रभावितलाई घर बनाउन तीन लाख बढी रकम दिने


काठमाडौं,कात्तिक १९ । सरकारले जाजरकोट भूकम्पबाट प्रभावितलाई घर बनाउन ३ लाख रूपैयाँभन्दा बढी आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

भूकम्पछि आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले २०७२ सालको भूकम्पपछि प्रभावितलाई घर बनाउन दिइएको ३ लाखमा यसपटक वृद्धि गर्ने घोषणा गरेको हो ।

तर भूकम्पपछिको पुनर्निर्माणको लागि सरकारले आर्थिक सहयोगको घोषणा केही समयपछि मात्रै गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले बताए ।

‘तत्काल टेन्ट, पाल, खाद्यान्न, ओषधी र अस्थायी बसोबासको प्रबन्ध मिलाउने भन्ने भएको छ । केही औषधि, टेन्ट र पाल घटनास्थलमा पुर्याएका छौं । अब तीन दिनभित्रमा खाद्यान्न र बसोबासको न्यूनतम व्यवस्था गर्ने निर्णय गरिएको छ,’ बैठकपछि मन्त्री बस्नेतले भने, ‘आर्थिक रूपमा व्यवस्थापन गर्ने विषयमा छलफल भएको छ ।

७२ सालमा भएका निर्णय र कमजोरीलई सच्चाएर अघि बढ्ने निर्णय भएको छ । पहिले भूकम्प पीडितले तीन लाख रूपैयाँ पाएका थिए । यसपटक यसमा केही रकम बढाउने कुरा भएको छ । यो विषय चाँडै टुंगिन्छ ।’

मित्रराष्ट्रहरू भारत, चीन, अमेरिकाले सहयोग गर्न इच्छा गरेको भन्दै स्वास्थ्यमन्त्री बस्नेतले कस्तो सहयोग लिने भन्ने सरकारले मापदण्ड बनाउने निर्णय गरेको जानकारी दिए ।

सरकारले यसअघि नै भूकम्पबाट घाइते भएकाको नि:शुल्क उपचार गर्नेबारे गरेको निर्णयलाई मन्त्रिपरिषदले अनुमोदन गरेको छ ।

साथै जुनसुकै प्राइभेट अस्पतालले भूकम्पपीडितको उपचार निशुल्क गरेर प्रतिवेदन स्वास्थ्य मन्त्रालयमा पेश गर्न पनि स्वास्थ्यमन्त्रीले निर्देशन दिएका छन् ।

जाजरकोटलाई केन्द्र बनाएर शुक्रबार राति गएको ६.४ रेक्टरस्केलटको भूकम्पमा परी १५७ जनाको मुत्यु हुनुका साथै दुई सय बढी घाइते भएका छन् ।

प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *