दाङ, कात्तिक १८ । रुकुम पश्चिमको सानी भेरी गाउँपालिकामा भूकम्पले पाँच जनाको मृत्यु भएको छ । दश जना घाइते भएका छन् ।
जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक धमेन्द्र खड्का अनुसार सानीभेरी – २ परियार टोलकी १२ बर्षीया मनिसा परियार, सानीभेरी – १ चाइनाबगर टोलका ३१ बर्षीया धनविर पुन, २८ बर्षीया चुम्निमा पुन, ८ बर्षीय यमराज पुन र २ बर्षीय सितल पुनको भूकम्पले घर धप्किदा च्यापिएर मृत्यु भएको छ ।
भूकम्पका कारण यो गाउँपालिकाका थप दश जना घाइते भएका छन् । सानीभेरी – १ की ४६ बर्षीया केशमनी पुन, १२ बर्षीया निरुता पुन, ३० बर्षीया सुशिला पुन, ७ बर्षीय दिपेश पुन, २६ बर्षीया निर्मला पुन, १८ बर्षीया कल्पना पुन, ७ बर्षीय भोजराज पुन, सानीभेरी – ३ चौकेकी ४५ बर्षीया इन्द्रकला बुढाथोकी, ५२ बर्षीया कालिका कामी र ४३ बर्षीया धनमाया छन्त्याल घाइते भएका छन् । घाइतेको उपचार जारी रहेको प्रहरी प्रबक्ता खड्काले बताए ।
जिल्लाको आठबिसकोट गाउँपालिकामा पनि भूकम्पले घर धप्किदा केही हताहती भएको खबर आएको भएपनि त्यसको पुष्टि हुन बाँकी रहेको प्रहरी प्रबक्ता खड्काले जानकारी दिए ।
घटनास्थल तर्फ प्रहरी पठाइएको भएपनि फोन सम्पर्क बिच्छेद भएका कारण थप विवरण आउन बाँकी रहेको उनले बताए ।