दाङ, कार्तिक १५ । दाङका तीन पालिकाले तिहारको समयमा प्लाष्टिक जन्य फूलका माला प्रयोग नगर्न आग्रह गरेका छन् ।
मंगलबार राप्ती गाउँपालिकाले प्लाष्टिक जन्य माला प्रयोग नगर्न अपिल जारी गरेको हो ।
यो पालिकाले आफ्नो क्षेत्र भित्र पुष्प खेती गरेका किसानको नाम, ठेगाना र सम्पर्क फोन नम्बरपनि सार्वजनि गरेको छ ।
जिल्लाका तुलसीपुर उपमहानगरपालिका र लमही नगरले सर्वसाधारणमा प्राकृतिक फूलका मालाहरु प्रयोग गर्न तथा प्लाष्टिक जन्ने नक्कली फूलका मालाहरु प्रयोग नगर्न आग्रह गरि सकेका छन् ।
जिल्लाका दश पालकिा मध्य तुलसीपुरले असोज २३ गते त्यस्तो निर्णय सार्वजनिक गरेको थियो । उस्ले प्लाष्टिक जन्य नक्कली फूलका मालाहरु बिक्री बितरण तथा भण्डारण गर्नेहरु बिरुद्ध कारबाहीसमेत गर्दै आएको छ ।
बजार अनुगमण गरि निर्णय बिरुद्ध प्लाष्टिक जन्य माला ल्याएकाहरुको सामान जफत गर्दै आएको छ । जस्ले गर्दा यो बर्ष अघिल्ला बर्षहरु जस्तो प्लाष्टिकका मालाहरु देखिन छोडेका छन् ।
तुलसीपुर पछि आइतरबार मात्रै लमही नगरपालिकाले पनि प्लाष्टिक जन्य मालाहरु प्रयोग नगर्न र प्राकृतिक रुपमा फूलेका फूलका मालाहरु मात्रै भाइ टीकाको अवशरमा प्रयोग गर्न सार्वजनिक रुपमा अपिल जारी गरेको थियो ।
लुम्बिनी प्रदेशको राजधानीको केन्द्र भाग राप्ती गाउँपालिकाले गत असार १९ गते नै आफ्नो क्षेत्र भित्र खादा माला, प्लाष्टिक जन्य माला, रबर, कोल्ड ड्रिङ्स, जनक फूड नगर्न र त्यस्ता बस्तुको सट्टामा स्थानीय उत्पादनको पर्बद्धन गर्ने खाले बस्तु प्रयोग गर्न आग्रह गरेको थियो ।
खादा मालाको सट्टा प्राकृतिक फूल वा माला, कोल्ड ड्रिङ्सको सट्टा दूध, दही, मोई, प्लाष्टिकका प्लेट, थाल, चम्चा प्रयोग गर्नुको सट्टा साल, मालु आदिबाट निर्मित टपरी वा दुना प्रयोग गर्न आग्रह गरेको थियो ।
त्यो कुरा फेरि स्मरण गराउँदै राप्ती गाउँपालिकाले मंगलबार फेरि तिहारको समयमा प्राकृतिक रुपमा उपलब्ध हुने फूलका माला प्रयोग गर्न अपिल गरेको हो ।
गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले आफ्नो पालिकामा फूल खेती गर्दै आएका ६ जना किसानको नाम, सम्पर्क नम्बर र ठेगानापनि सार्वजनिक गरेका छन् ।
स्थानीय सरकारको समर्थन पाएपछि फूल खेती गर्दै आएका किसान खुसी बनेका छन् ।
दाङमा यो बर्ष सबै भन्दा बढी क्षेत्रफलमा तुलसीपुर उपमहानगरपालिका – १७ मा १६ बिगाहा क्षेत्र फलमा फूल खेती गरेका ६० बर्षीय हेमराज शर्माले आँफु जस्ता किसान स्थानीय पालिकाको साथ समर्थनबाट खुसी भएको प्रतिक्रिया दिए । यहाँ कृषि प्राबिधिक शर्मासहित पाँच जना मिलेर फूलखेती गरेका छन् ।
जिल्लामा लामो समयदेखि फूल खेती गर्दै आएका घोराही उपमहानगरपालिका – १४ मा लोकेन्द्र रोका मगरले पनि जिल्लाका सबै पालिकाले प्लाष्टिक जन्य फूल मालाको प्रयोगमाथि प्रतिबन्ध लगाउने निर्णय गर्न सके त्यसले जिल्लाको प्रदुशनपनि कम हुने बताए ।
जस्ले बिगत नौ बर्षदेखि ब्यबसायिक रुपमा फूलखेती गर्दै आएका छन् । यो बर्ष उनले करिब तीन बिगाहा क्षेत्रफलमा फूल खेती गरेका छन् ।
पछिल्लो समय दाङ फूलमा आत्मनिर्भर छ ।जिल्लाका बढी मात्रामा तुलसीपुर, घोराही क्षेत्रमा बिभिन्न ब्यक्तिहरु तथा बिद्यालयमा अध्यनरत बिद्यार्थीले समेत सयपत्री फूलको ब्यबसायी खेतीहरु गर्दै आएका छन् ।
कृषि ज्ञान केन्द्र दाङकी कृति अधिकृत देबा महराले हाल जिल्लामा कार्यालयको रेकर्डमा रहेको मध्य २४ बिगाहा क्षेत्रफलमा ब्यबसायिक रुपमा फूलखेती भइरहेको जानकारी दिइन ।
यो बाहेक बिभिन्न संघ संस्था र ब्यक्तिहरुले समेत जिल्लाका बिभिन्न स्थानमा तिहारलाई लक्षित गरि फाट्ट फुट्ट रुपमा फूलखेती गरेको भएपनि त्यो कार्यालयको रेकर्डमा नरहेको उनले बताइन ।
तुलसीपुरका गोरखा माविका बिद्यार्थी, नमुना मावि रक्षाचौरका बिद्यार्थीले समेत तिहारलाई लक्षित गरि फूलखेती गरेका छन् । राजधानी क्षेत्रको गढवामा पनि फूल खेतीमा आकर्षण बढ्दै गएको पाइएको छ ।
झन्डै पौंने आठ लाख जनसंख्या रहेको लुम्बिनी प्रदेशको राजधानी दाङमा पछिल्लो समय किसान फूल खेतीमा आकर्षण बन्दै गएका छन् ।
नेता तथा मन्त्रीहरुको आवात जावात बाक्लिन थालेपछि त्यस्ता कार्यक्रमहरुमा स्वागत सम्मानका लागि फूलकै माला प्रयोग हुने थालेको छ ।
गाउँ घर आँफै फूल र मालामा आत्मनिर्भर रहेको तथा बजार क्षेत्रको आवश्यकता पछिल्लो समय भएका ब्यबसायिक फूल खेतीले सहजै पुरा गर्ने गरेको सरोकारवालाहरु बताउँछन् ।
फूलको उत्पादनमा बृद्धि भए संगै दाङले पछिल्लो समय बुटवल, नेपालगंज, सुर्खेत र धनगडीसम्मको माग पुरा गर्दै आएको छ ।