तुलसीपुर, कार्तिक १० । तुलसीपुर बसपार्कमा एक जना ब्यक्तिले ब्यक्तिगत रुपमा लाखौं खर्च गरि स्वागत गेट निर्माण गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बसपार्कको माछापुच्छ्रे टोल निवासी युद्धराम नेपाली र लक्ष्मीदेबी नेपालीको परिवारले नगद तीन लाख बढी खर्चिएर स्वागत द्धारा निर्माण गरेका हुन ।
उक्त स्वागतद्धारको शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
तुलसीपुरका प्रतिष्ठित ब्यापारी तथा क्लिन तुलसीपुर ग्रिन तुलसीपुरका अभियान्ता बिमल रिजालले रिवन काटेर स्वागत गेटको उद्घाटन गरेका हुन ।
कार्यक्रमका प्रमुख अतिथि रिजालले उद्घाटन पछि सम्बोधन गर्दै युद्धराम जस्तै मनकारी मानिसहरु समाजमा थपिदै जानु पर्ने बताए ।
‘ युद्धराम दाइको प्रयासले आज बसपार्कको सौन्दर्यकरण र पहिचानमा एक इट्टा थपिएको छ,’ प्रमुख अतिथि रिजालले भने ‘ यहाँ बस्ने हरेक नागरिकले यसको स्वामित्व ग्रहण गरि संरक्षण तथा बसपार्क क्लिन र ग्रिन बनाउन हातेमालो गर्न तर्फ लाग्नु पर्ने छ ।’
कार्यक्रमका बिशिष्ट अतिथि तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष यमकान्त भण्डारीले आफ्नै कार्यकाल भित्रै तुलसीपुर बसपार्कमा सार्वजनिक धारा स्थापना गरि तुलसीपुरमा आउने हरेक यात्रुको प्यास मेटाउने वाचा गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै स्वागत गेट निर्माता युद्धराम नेपालीले गेट्ले तुलसीपुरका पहिचान स्थापनामा थप टेवा पुग्ने बताए ।
‘ यो मैले बनाएको भनेर कहिलै नठान्नु होला,’ उनले भनेका थिए ‘ तपाँइहरु सबैको साथ सहयोग र ढाड्सले यो ठडिएको हो र यो आजदेखि सबैको साझा सम्पत्ति हो ।’
माछापुच्छ्रे टोल बिकास संस्थाका अध्यक्ष तोभान केसीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मिनराज भण्डारी, टोलहरुको तर्फबाट समाज सुधार सरोकार समितिका अध्यक्ष प्रेमप्रकाश मल्ल लगाएतले युद्धराम नेपाली र उनको परिवारले ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर समाजका लागि गरेको योगदानको प्रशंसा गरेका थिए ।
टोल बिकास संस्थाका सचिव डम्मरबहादुर डाँगीको स्वागत मनतब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका कोषाध्यक्ष प्रकाश वलीले गरेका थिए ।
कार्यक्रममा तीन लाख खर्चेर स्वागत गेट निर्माण गर्ने नेपालीका दम्पत्तिलाई दोसल्ला ओढाई , प्रसंसा पत्रसहित प्रमुख अतिथि बिमल रिजालले स्वागत सम्मान गरेका थिए । त्यहाँ उपस्थित अन्य अतिथि तथा सर्वसाधारणले पनि नेपालीका दम्पत्तिलाई अभिर, खादा लगाई सम्मान प्रकट गरेका थिए ।
त्यसअबसरमा गेट निर्माणको जिम्मा लिएका ग्रिल उद्योगी कालकृष्ण वली, गेट निर्माण गर्दा लाग्ने बिजुली बत्ति निशुल्क रुपमा उपलब्ध गराउने दुर्गा मिठाई पसलका संचालक राजकुमार वलीलाई पनि सम्मान गरिएको थियो ।
पुर्खेउली घर तुलसीपुर – १३ रणियापुरका युद्धराम नेपाली बिगतमा तुलसीपुर नगरको कार्यालय सहयोगीको रुपमा कार्यरत थिए ।
माछापुच्छ्रे टोल बिकास संस्थाका कोषाध्यक्ष प्रकाश वलीका अनुसार युद्धराम नेपालीको परिवारले एकल रुपमा तीन लाख नगद गेट निर्माणमा खर्च गरेको थियो भने टोल बिकास संस्थाले पेन्टिङ र स्वागत गेटमा लेखाउनसमेत गरि थप ५० हजार खर्चिएको थियो ।