तुलसीपुर, कात्तिक ३ । दाङको तुलसीपुरबाट बधुबार दिउँसो एक लाख लुटेर भागेका दुई युवालाई केही बेरमै नियन्त्रणमा लिन सफल प्रहरी पुरस्कृत भएका छन् ।
तुलसीपुर बसपार्कका इञ्चार्ज प्रहरी सहायक निरीक्षक सञ्तोष आचार्य, प्रहरी हवल्दार मधु केसी, प्रहरी सहायक हवल्दारहरु लालबहादुर डागि, बिकास केसी र देवराज खराल र प्रहरी जवान रमेश खड्का पुरस्कृत भएका हुन ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख ठाकुरप्रशाद पोखरेलले प्रहरी निरीक्षक नबचन्द्र मल्लको सिफारिसमा असल कार्य गरेको भन्दै नगदसहित सम्मानित गरेका हुन ।
कात्तिक १ गते दिउँसो रकम लुटेर भागेका तुलसीपुर उपमहानगरपालिका – ५ संझना टोलका २१ बर्षीय आयूस बिक र सोही ठाउँका १८ बर्षीय सुनिल मगरलाई त्यसको केही बेरमै प्रहरीले पक्राउ गरेको थियो ।
तुलसीपुर – ९ दुधेनाका दिनेश वलीले बैंकबाट एक लाख रुपैंया निकालेर घर तर्फ जाने क्रममा दुई युवाले रकम लुटपाट गरि भागेका थिए । साथीसंग गएका वलीको सुरुमा मोवाइल लुटी उनीहरुले पैंशापनि लुटेर भागेका थिए ।
लुटपाट भएको खबर पाउना साथ इलाका प्रहरी कार्यालय तुलसीपुर, नयाँ बसपार्क र बेलुवा प्रहरी चौकीबाट प्रहरी परिचालन भएको थियो । तीन तर्फबाट प्रहरीले घेराहाली लुटेराको खोजी थालेको थियो ।
प्रहरीले पिछा गर्दै जाने क्रममा तुलसीपुर – १० राइखल्यान क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरु बाट लुटेको रकम फेला परेको थियो ।