दाङ, कार्तिक २ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका –९ का ३३ बर्षीय लोकबहादुर विक महिलाको हत्या गरेको आरोपमा पक्राउ पछि सार्वजनिक गरिएका छन् ।
जिल्लाको मुसीकोट नगरपालिका – ७ साँखकी २७ वर्षीया भावना विक असोज ३० गते बिहान होटेलमा बिभत्स ढंगबाट हत्या गरेको अवस्थामा फेला परेकी थिइन ।
भावनाको घाँटी रेटिएको अबस्थामा शब फेला परेको थियो ।
जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराइले भावनाको हत्या २५ दिन पहिले जेलबाट छुटेका लोकबहादुरले गरेको तथ्य खुलेको जानकारी दिए ।
दुई बीचको अनैतिक सम्बन्ध लुकाउन लोकबहादुरले भावनाको हत्या गरेको कुरा खुलेको प्रहरीले बताएको छ ।
उनीहरुका बीचमा प्रेम सम्बन्ध रहेको र त्यही प्रेम सम्बन्धका कारण यसअघि भावना लोकबहादुर भेट्न जेलमा पनि जाने गरेको प्रहरीले जानकारी दिएको छ ।
लोकबहादुर संविधान दिवसको दिन आममाफी पाएर असोज २ गते मात्रै जेलवाट छुटेका थिए । लोकबहादुरलाई बहुविवाह मुद्दामा रुकुम पश्चिम जिल्ला अदालतले ११ महिना कैद सजाय तोकेको थियो ।
उनी ६ महिना कैद भुक्तान पछि संविधान दिवसका अवसरमा सजाय माफी पाइ रिहा भएका थिए ।
लोकबहादुरकी कान्छी श्रीमतिपनि बिवाह लगतै बिदेश गइ सकेकी र हत्या गरिएकी भावनाका श्रीमानपनि बिदेशमा रहेको प्रहरीले जानकारी दिएको छ । लोकबहादुर र भावना दुबैका छोरा छोरी रहेको पनि प्रहरीले जानकारी दिएको छ ।
भावना खलंगाको होटेल सत्कारमा हत्या गरेको अवस्थामा असोज ३० गते बिहान फेला परेकी थिइन । लोकबहादुर र भावना असोज २८ गते होटेलको कोठा बुक गरि बसेका थिए । २९ गते दिउँसोदेखि कोठामा बाहिरबाट ताला लगाइएको थियो ।
लोकबहादुरका बिरुद्ध बुधबार भावनाकी सासुआमा उजेली कामीले कर्तव्य ज्यान सम्बन्धि किटानी जाहेरी दिएकी छन् । घटनाबारे थप अनुसन्धान भइ रहेको डिएसपी कार्कीले जानकारी दिए ।