सल्यान, कार्तिक १ । एक युवाले काठमाडौंदेखि सल्यान सम्मको साइकल यात्रा पुरा गरेका छन् । सल्यान छत्रेश्वरी – ३ मुलखोलाका २४ बर्षीय निषेध दाहालले पाँच सय नौं किलो मिटर यात्रा साइकल बाट पुरा गरेका हुन ।
वातावरण र जीवनमा साइकलको महत्व स्थापित गराउन सहयोग पुगोस भन्नुका साथै सल्यानका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको प्रवद्र्धन तथा प्रचारप्रसारमा सहयोग पुगोस भन्ने उदेश्यले आँफुले काठमाडौं– सल्यान साइकल यात्रा गरेको दाहालले बताए ।
उनले यो यात्रा ६ दिनमा पुरा गरेका छन् । बिहीबार काठमाडौंको पशुपतिनाथ बाट यात्रा सुरु गरेका दाहालले मंगलबार सल्यान पुगेका हुन । साइकल यात्री दाहाललाई छत्रेश्वरी गाउँपालिकाले मंगलबार सम्मान गरेको थियो ।
गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकीले छत्रेश्वरी गाउँपालिका लगाएत जिल्लाका ऐतिहासिक तथा धार्मिक महत्वका स्थलहरुको प्रचार प्रशार तथा पर्बद्धनमा सबैले भूमिका खेल्नु पर्ने बताएका थिए ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुप्रसाद योगी, वडा नम्बर ६ का वडा अध्यक्ष टीकाराम बुढा लगाएतले दाहाललाई स्वागत र सम्मान गर्दै हरेक युवाहरु असल र उदाहरणीय कार्य गर्न आग्रह गरेका थिए ।