२०८० मङ्सिर २३ गते शनिवार

‘रिगल’को कैद माफी विरुद्ध दर्ता भएको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं,असोज २५ । चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योग ढकालको कैद माफीविरुद्ध दायर भएको रिटमा बिहीबार सुनुवाइ हुँदैछ।

कैद माफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध चेतनकी श्रीमती भारती मानन्धरले सर्वोच्चमा रिट दर्ता गरेकी थिइन्।

सर्वोच्चले असोज १८ गते रिटमाथि प्रारम्भिक सुनुवाइ गरेको थियो। सुनुवाइमा सर्वोच्चले कैद मिनाहाको विषयलाई गम्भीर रूपमा लिँदै यस मुद्दाको पेसी स्थगित नहुने ‍जनाएको थियो।

यसभन्दा अगाडि उक्त रिटमा दुई पटक पेसी तोकिए पनि सुनुवाइ भने भएको थिएन। रिगललाई आममाफी दिएको भन्दै राष्ट्रपति पौडेलको अहिले चौतर्फी आलोचना भइरहेको छ। संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को रिफारिसमा राष्ट्रपति पौडेलले रिगललाई आममाफी दिएका थिए।

रिगलमाथि २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा दिउँसो ३ बजेतिर चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो।

हत्या अभियोगमा उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। साथै, उक्त घट्नामा संलग्नअन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो।

रिगल उक्त घटना हुँदाका बखत नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आवद्ध थिए ।

प्रकाशित मिति : २०८० असोज २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *