तुलसीपुर,असोज १९ । बिहानको झण्डै ७ बज्दै थियो । तुलसीपुरका गणेश चौधरी साथीहरुसंग ब्याडमिन्टन खेलिरहेका थिए । त्यहाँ अन्य खेलाडीहरु पनि खेलमै रमाइरहेका थिए । घटना असोज १५ गते बिहानको हो ।
कर्बड हल भित्र एकाएक बाढी पस्यो । जहाँ अन्य खेलाडीहरु पनि थिए । बाढी पसेपछि सबैजना आत्तिए । एकछिन भागाभाग भयो । कर्बड हल भित्रै बाढी पसेपछि त्यहाँ रहेका खेल सामाग्रीहरु पनि बगाइदियो ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मा रहेको मल्टिप्रपोज कर्बड हलसगैं सटेको एउटा सोता छ । जसलाई मानिसहरु बौलाहा सोता भनेर चिन्ने गर्छन । सोही सोतामा आएको बाढी एकाएक कर्बड हलभित्र पसेको थियो ।
कबर्ड हल नै सोही सोता माथि जो निर्माण गरिएको छ । ‘यस अघि आएको पानीले कुनै असर गरेको थिएन,यहाँ खेल खेलिरहेका थियौँ,’ दाङ जिल्ला ब्याडमिन्टन सघंका सचिव लालबहादुर केसीले भने, –‘ तर असोज १५ गते २ घण्टा आएको पानीले कबर्डहल जलमग्न बन्न पुग्यो ।’
कर्बड हल नजिकै खानेपानीले जबरजस्त रुपमा ट्याङकी निमार्ण गर्न खोज्दा यस्तो अवस्था निम्तिएको केसीको दावी छ । पहिले ६८ इन्च ठूलो आकारको पानी बग्ने नाला अहिले घटाएर खानेपानीले ३८ इन्च साँघुरोमा झारिदिएपछि नाला बुझिएर पानी हल भित्रै पसेको उनले बताए ।
त्यो भेल पानी भित्र पसेपछि भएका खेल सामाग्री क्षति पुगेको छ । तर यसतर्फ स्थानीय सरकारले कुनै चासो नदेखाएको भन्दै उनले रोष प्रकट गरे ।
‘जिल्ला खेलकुद विकास समितिको स्वामित्वमा कर्बड हल छ भनिएपनि त्यसले पनि यसप्रति कुनै चासो देखाएको छैन,’ केसीले भने ‘ सरकारको पौने दुई करोडमा लगानीमा निर्मित कर्बड हल यस्तै अवस्था कायमै रहे प्रयोग बिहिन बन्न सक्ने खतरा छ ।’
उनले अझैंपनि पहिले कै आकारको नाला निर्माण गरे जोखिम टर्न सक्ने बताए ।राज्यले करोडौ रकम खर्चेर ऐलानी जग्गा र त्यसमा पनि अव्यवस्थित ठाउँमा कर्बड हल निमार्ण गर्दा अहिले धेरै चुनौतीहरु सामाना गर्नुपरेको अर्का एक खेलाडीले बताए ।
कर्बड हल जाने बाटोको अवस्था पनि चिरा परेको छ ।
बाटोको मर्मत सम्भार नहुदाँ हलसम्म आवातजावत गर्न पनि कठिनाई हुने गरेको छ ।