तुलसीपुर,असोज १९ । दाङ र रोल्पाको सिमानामा पर्ने रानीवास स्थित ग्वारखोलाको स्थलगत अवलोकन गरिएको छ ।
बिजौरी उद्योग वाणिज्य सघंको अगुवाईमा तुलसीपुर उपमहानगरपालिकाका इन्जिनियर पवन योगी,तुलसीपुर–१९ का वडाध्यक्ष प्रेमनाथ योगी सहितको टोलीले रोल्पाको रुण्टीगढी गाउँपालिका वडा नं. ६ र ८ जोड्ने रानीवासमा पुगेर अवलोकन गरेको हो ।
रानीवासमा पुल नबन्दा त्यहाँका स्थानीयले आवतजावतमा समस्या खेप्दै आएका छन । स्थानीयले जोखिम मोलेर खोला तर्ने गरेका छन । त्यस ठाउँमा दैनिक ५०÷६० जना बढी मानिसहरु आवात जावत गर्ने गर्दछन । तर खोला वारपार गर्नका लागि सरकारले अहिलेसम्म काठको पुल समेत निमार्ण गर्न सकेको छैन ।
अहिले अविरल वर्षाका कारण पहिरो खस्दा त्यहाँको कच्ची सडक समेत अवरुद्ध हुदैँ आएको छ । त्यसले गर्दा दैनिक आवात जावत गर्न अझै कठिन भएको स्थानीयको गुनासो छ । सडक राम्रो भएर नियमित यातयातका साधनहरु सञ्चालनमा आउन सकेमा दैनिकजसो २ सय बढी मानिसहरु रोल्पादेखि दाङ आवात जावत गर्न सक्ने बिजौरी उद्योग वाणिज्य सघंका अध्यक्ष रेश्मीराज खड्काले बताए ।
चाडपर्वको समयमा सडक अवरुद्ध हुदाँ किनमेलका लागि रोल्पा देखि दाङ आउने मानिसहरु घण्टौ पैदल यात्रा गरेर पुग्ने गरेका छन भने त्यहाँ उत्पादन गरिएका तरकारीहरु ल्याउन कठिनाई भएको छ ।
यस विषयमा रुण्टीगढी गाउँपालिका,तुुलसीपुर उपमहानगरपालिका,बिजौरी उद्योग वाणिज्य सघं,यहाँका जनप्रतिनिधि,राजनितिकदल लगाएतको टोलीसगं छिटै बृहत छलफल गर्ने तयारीमा जुटेको उद्योग वाणिज्य सघंका महासचिव दीपक कुमार बस्नेतले जानकारी दिए ।
स्थलगत अवलोकनमा पुगेका तुलसीपुर उपमहानगरपालिकाका इन्जिनियर पवन योगीले रुण्टीगढी गाउँपालिका वडा नं. ६ र ८ लाई जोड्ने ग्वार खोलाको सिमानामा पर्ने रानीवासमा पानीको बहाब बढी भएको हुदाँ यश ठाँउमा पक्की पुल बनाउन आवश्यक देखिएको बताए ।
‘ह्मिपाइप कल्र्भट वा कच्ची बाटो सम्म बनाउन सकिन्छ कि भन्ने सोचले त्यहाँ पुगेका थियौँ,इन्जिनियर योगीले भने,‘ तर त्यहाँ त्यत्तीले मात्र सम्भव नहुने रहेछ,त्यहाँको अवस्था हेर्दा पुल नै बनाउन आवश्यक देखियो । ’
उनले आवतजावतको समस्या समाधानमा लागि तत्कालको लागि ट्रसविट सम्म बनाउन सकिने बताए । त्यस स्थानमा पुल निमार्णका लागि सडक डिभिजन कार्यालय रोल्पाले डिपिआर तयार गरिसकेको छ ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ का वडाध्यक्ष प्रेमनाथ योगीले एक वडा र उपमहानगरपालिकाबाट मात्र पुल निमार्णको काम सम्भव नरहेको बताए ।
उनले तुलसीपुर उपमहानगरपालिका र रुण्टीगढी गाउँपालिकाले ५० प्रतिशत र बाँकीे ५० प्रतिशत संघिय सरकारसगं माग गरेर पक्की पुल निमार्ण गर्न सकिने बताए ।
पुल निमार्णका लागि आफुले सक्दो पहल गर्ने प्रतिबद्धता पनि जनाए ।