दाङ,असोज १८ । नेपालगञ्जमा तेस्रो दिन पनि कर्फ्यु जारी रहेको छ। नेपालगञ्जका चोकचोकमा ठूलो संख्यामा प्रहरी तैनाथ छन्। अत्यावश्यक काममा हिँडेका बाहेकलाई बाहिर निस्किन दिइएको छैन।
मंगलबार दिउँसो १ बजेदेखि यहाँ कर्फ्यु लगाइएको हाे।
कर्फ्युलाई विस्तारै खुकुलो बनाउदै हटाउन सर्वदलीय सर्वपक्षीय बैठकले सुरक्षा समितिलाई अनुरोध गरिसकेको छ।
आज बिहान ८ बजे सुरक्षा समितिको बैठक बस्ने तयारी गरेको छ। यो बैठकले कर्फ्युलाई खुकुलो बनाउँदै हटाउने विश्वास गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले सुरक्षा समितिको बैठकले कर्फ्युका विषयमा केही निर्णय गर्ने बताए।
मंगलबार एकाएक अशान्त बनेको नेपालगञ्ज त्यसपछि शान्त रहेको छ। बुधबार दिनभरि नै नेपालगञ्ज शान्त रह्यो।
आज पनि केही कतै कुनै अराजक गतिविधि देखिएको छैन। यी कुरालाई विश्लेषण गरेर सुरक्षा समितिको बैठकले कर्फ्युका विषयमा निर्णय गर्ने बुझिएको छ।
