दाङ,असाेज १४। दाङ जिल्ला उद्योग वाणिज्य संघको अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट संघको नेतृत्वमा संयुक्त व्यवसायिक प्यानलका बसन्त जोशी विजयी भएका छन् । नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको संयुक्त प्यानलबाट जोशीले नेतृत्व गरेका थिए ।
नेकपा एमाले, विप्लब माओवादी, राप्रपा र मशालको साझा समावेशी व्यावसायिक प्यानल बनेको थियो । जसको नेतृत्व गरेका थिए रामप्रपाद पोख्रेलले । जोशीले पोख्रेललाई ४३५ फराकिलो मतले पछाडि पार्दै जित निकालेका हुनु ।
संयुक्त व्यवसायी प्यानलबाट उद्योग उपाध्यक्षमा उम्मेदवारी दिएका भरतप्रसाद रेग्मीबाहेक सिङ्गो प्यानलले विजयी भएको छ । मिश्रित परिणाम आउने आँकलनले बजार तताइरहेका बेला संयुक्त व्यवसायी प्यालनका उम्मेद्वारले एक उद्योग उपाध्यक्षबाहेक सबै पदमा जित हासिल गरेका छन् ।
नेपाली काङ्ग्रेस दाङले संयुक्त व्यवसायी प्यानलका उम्मेद्वारलाई तथा मतदान कार्यमा उपस्थित भई मतदान गर्ने सम्पूर्ण मतदाताप्रति धन्यवाद ज्ञापन गरेको छ । आज एक विज्ञप्ति जारी गरी दाङ काङ्ग्रेसले सम्पूर्ण मतदाताप्रति आभार तथा कृतज्ञता ज्ञापन गरेको हो ।
‘दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनको मतदान कार्यमा उपस्थित भई अमूल्य मतदान गरी विजयी गराउने सम्पूर्ण मतदाताप्रति हार्दिक आभार तथा कृतज्ञता ज्ञापन गर्दछौँ । विजयी उम्मेदवारप्रति बधाई ज्ञापनसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ ।’ जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै विज्ञप्तिमा निर्वाचन अवधिमा प्रत्यक्ष तथा परोक्ष रुपमा सहयोग पुर्याउने उद्योगी, व्यवसायी, सञ्चारकर्मी, कानुन व्यवसायी, सुरक्षाकर्मी, पर्यवेक्षक, राजनीतिक दल, राजनीतिक दलका भ्रातृ संघ, संगठन, नागरिक समाज सबैप्रति आभार प्रकट गरिएको छ ।
पार्टी सभापति शङ्कर डाँगीद्वारा हस्ताक्षरित विज्ञप्तिमा संयुक्त व्यवसायी प्यानलमा आवद्ध पार्टीका प्रतिनिधिहरुले खेलेको महत्वपूर्ण भूमिका कारण उम्मेद्वारहरुलाई विजयी बनाउन सकिएको उल्लेख गर्दै पार्टी प्रतिनिधिहरुप्रति पनि आभार प्रकट गरिएको छ ।
त्यस्तै प्रजातान्त्रिक उद्यमी संघले विजयी उम्मेदवारहरुलाई बधाई तथा शुभकामना प्रकट गरेको छ । संघका अध्यक्ष कालीबहादुर केसी र महासचिव श्रीधर धितालद्वारा एक विज्ञप्ति जारी गरी सम्पूर्ण मतदाताप्रति आभार तथा कृतज्ञता प्रकट गरेको छ ।
‘दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा सहभागी मतदान गर्नु हुने सम्पूर्ण मतदाताप्रति हार्दिक आभार तथा कृतज्ञता प्रकट गर्दछौँ । साथै निर्वाचनका क्रममा खटिने तथा सहयोग गर्ने सबैप्रति कृतज्ञ छौँ ।’ जारी विज्ञप्तिमा उल्ले्ख छ ।