काठमाडौं,असोज १४ । नेपाली राष्ट्रिय क्रिकेट टिमले हाङझाउमा जारी १९ औं एसियाली खेलकुदमा पुरुष क्रिकेटतर्फको आफ्नो दोस्रो खेलमा माल्दिभ्सलाई १ सय ३८ रनले पराजित गरेको छ।
अभिनाश बोहोराले टी-२० अन्तर्राष्ट्रियमा ६ विकेट लिएपछि नेपालले फराकिलो जित हासिल गर्यो। टी-२० अन्तर्ष्ट्रियमा ६ विकेट लिने अभिनाश पहिलो बलर बने। उनीअघि सन्दीप लामिछाने र करण केसीले समान ५-५ विकेट लिएका थिए।
आइतबार बिहान सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई फराकिलो अन्तरले हराउँदै समूह ‘ए’बाट क्वाटरफाइनलमा स्थान बनायो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले माल्दिभ्ससमक्ष २ सय १३ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
जेजेयुटि क्रिकेट मैदानमा निर्धारित २० ओभरमा नेपालले ७ विकेट गुमाएर २ सय १२ रन बनायो।
नेपालका लागि कप्तान रोहित पौडेलले २७ बलमा ५२ रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै, कुशल मल्लले २० बलमा ४७ रनको नटआउट इनिङ खेल्दा गुल्सन झाले ३५ रन बनाए। त्यस्तै विनोद भण्डारी १३ रनमा आउट हुँदा शुशल भुर्तेलले ३५ रन बनाए। इस्माइल नजवान बडेउले ३ विकेट लिए।
२ सय १३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स ७४ रनमा नै अलआउट भयो। उसका तीन खेलाडीले दोहोरो रनको स्कोर बनाएका थिए। अब्दुल मुवावियथ घानेले ३६ रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक रसम रसिद १२ रनमा नटआटउ रहँदा सिउस फ्यारेडले १० रन बनाए।
माल्दिभ्सलाई सस्तैमा समेट्ने क्रममा अभिनास बोहरले ६ विकेट लिए। ३।४ ओभर बलिङ गरेका उनले ११ रन खर्चिएर ६ विकेट लिए। त्यस्तै, सोमपाल कामी, गुल्सन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले समान १-१ विकेट लिए।